प्रहार समाचार । काठमाडौँ, चैत ६ मंगलवार । फागुनदेखि सुरु भएको डढेलो र आगलागीका घटना चैत लागेपछि एक्कासि बढेका छन् । घटना देशव्यापी रूपमा नै विस्तार भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र आगलागीका ५५ घटना भएका छन् । तिनमा परेर तीन जनाको ज्यान गएको र तीन जना घाइते भएका छन् । घटनामा चार करोड ८५ लाख रुपियाँ बराबरको आर्थिक क्षति भएको छ । हिउँद लागेसँगै आगलागी र डढेलासम्बन्धी विपत्का घटना बढ्ने भए पनि आवश्यक सावधानी अपनाउन नसक्दा बर्सेनि यसबाट हुने आर्थिक क्षतिको दर बढिरहेको छ ।
विगत १२ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने आगलागीकै कारणले ठुलो सङ्ख्यामा मानवीय र आर्थिक क्षति बेहोरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कमा यो समयमा २५ हजार २४० वटा आगलागी र डढेलोमा परेर एक हजार एक सयभन्दा बढीको अकालमै ज्यान गएको छ ।मानवीय क्षति मात्रै नभएर औसतमा एक वर्षमा दुई अर्ब रुपियाँभन्दा बढीको आर्थिक क्षति आगलागीका कारण हुने गरेको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले एक दशकको अवधिमा आगलागीबाट २६ अर्ब ७१ करोड ९५ लाख ६३ हजार ८३४ रुपियाँ बराबरको आर्थिक क्षति भएको जानकारी दिए । केन्द्रको तथ्याङ्क अनुसार २०६८ सालदेखि २०८० चैत ४ गतेसम्मको अवधिमा तीन हजार ३२६ जना घाइते भएका छन् । एकदशकमा ३३ हजार १७५ परिवार आगलागीबाट प्रत्यक्ष प्रभावित बनेका छन् । गोरखापत्र बाट
























