प्रहार समाचार । पोखरा, चैत ४ आइतवार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विशेष समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने भएका छन् ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्ने भएका हुन् । राजधानी घोषणा गर्नका लागि पोखरा महानगरका मेयर धनराज आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिवहरू, रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, फेदीखोला र मोदी गाउँपालिका तथा शुक्लागण्डकी र कुश्मा नगरपालिकााका मेयर र अध्यक्ष, कास्कीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, पोखरा पर्यटन परिषद्, नेपाल पत्रकार महासङ्घ गण्डकी र कास्की, पोखरा उद्योग वाणिज्य सङ्घ, लेखनाथ उद्योग वाणिज्य सङ्घ, होटेल सङ्घ पोखरा, नेपाल पर्यटन बोर्ड, महानगरका सबै वडाअध्यक्ष, पर्यटकीय सङ्घ संस्थाका प्रमुख, कास्कीस्थित सबै सङ्घसंस्थाहरू सदस्य छन् ।
घोषणाअघि लेकसाइडस्थित बसुन्धरा पार्कबाट सांस्कृतिक झाँकीसहितको र्याली निकालिने छ । कार्यक्रममा सहभागिताका लागि चीन र भारतसहित विभिन्न देशका राजदूतहरुलाई पनि निमन्त्रणा गरिएको पर्यटन सचिव कुमानसिंह गुरुङले प्रहार समाचारलाई बताए । यति बेला पोखरालाई भव्य रूपमा सजिसजाउ गरिएको छ। पोखराको दिगो पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो
























