प्रहार समाचार । काठमाडौँ, चैत २ शुक्रवार । नेपाली कांग्रेसका सांसद राजन केसीले अर्थमन्त्री वर्षमान पुन सुन तस्करसँग जोडिएको भन्दै उनको भ्वाइस रेकर्ड संसदमा सुनाउन माग गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा कांग्रेस सांसद केसीले सुन तस्करीको आरोपमा हिरासत बसेकासँग १९ पटक सम्वाद भएको कुरा बाहिर आएको बताएका हुन् ।
बजारमा पुन र सुनको कुरा आइरहेको छ । वर्षमान पुनजी सुनसँग जोडिनु भएको छ । सुनका आरोपित कारागारमा बसेका छन् । १९ पटकसम्म सुन तस्करसँग टेलिफोन वार्ता गरेको भनेर अखबारमा आएको छ’, सांसद केसीले भने, ‘सभामुखमार्फत उहाँले वार्ता गरेको भ्वाइस डिटेल यसै हाउसमा सुनाइयोस् । व्यापारीसँग के कुरा गर्नुभयो त्यो सुनाउनको लागि सभामुखबाट रुलिग होस भन्न चाहन्छु ।’

सुन तस्करसँग अर्थमन्त्री पुनको कुराकानी भएको भन्दै अन्य सांसदले पनि आवाज उठाएका थिए ।शुक्रवार शून्य समयमा कांग्रेस सांसद जाबेदा खातुनले समेत वर्षमान पुनको संलग्नता देखिएको भन्दै आवाज उठाएकी थिइन् ।
























