हेडलाईनसमाचारगण्डकी

घरेलु मदिरालाई वैध बनाउन  कानुन निर्माणको प्रक्रियामा  गण्डकी प्रदेश सरकार

प्रहार समाचार । कास्की, फागुन ११ शुक्रवार । घरेलु मदिरालाई वैध बनाउन गण्डकी प्रदेश सरकार कानुन निर्माणको प्रक्रियामा लागेको छ।

लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई वैध बनाउन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया थालेको हो। सोसम्बन्धी विधेयकको मस्यौदालाई प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा पेस गर्ने प्रदेश सरकारको तयारी छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता दिनेशप्रकाश अर्यालले घरेलु मदिराको ‘ब्रान्डिङ’का लागि कानुन ल्याउन लागिएको बताए । “विधेयक प्रस्तावका लागि आर्थिक मामिला मन्त्रालयले स्वीकृत दिइसकेको छ”, उनले भने, “कानुन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सैद्धान्तिक सहमति आएपछि मस्यौदाको काम अगाडि बढ्छ ।”

मापदण्ड र गुणस्तर तय गरेर घरेलु मदिराको व्यावसायिक उत्पादनलाई खुला गर्न कानुनी प्रबन्ध गर्न लागिएको प्रवक्ता अर्यालले बताए । सङ्घीय कानुनसँग नबाझिने गरी विधेयक ल्याउन आर्थिक मामिला मन्त्रालयले स्वीकृति प्रदान गरेको उनको भनाइ छ ।

“घरेलु मदिरालाई वैधानिकता दिने विषय प्रदेश सरकारको प्राथमिकतामा छ”, प्रवक्ता अर्यालले भने, “उद्योगका रूपमा लैजाने कि र घरघरै बनाउन अनुमति दिने भन्नेमा अझै मतैक्य भने हुनसकेको छैन, मुख्यमन्त्री र मन्त्री सबैतिर खुला गर्ने सोचमा हुनुहुन्छ, कतिपयको उद्योग खोलेर व्यवस्थित गर्नुपर्ने धारणा छ ।”

प्रदेश सरकारले घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणलाई आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पनि समेटेको छ । मदिरा ऐन, २०३१ ले पनि घरेलु मदिरालाई वैधानिक मान्यता दिएको छैन ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button