प्रहार समाचार | तनहुँ कार्तिक १५ बुधबार ।
चार वेद अठार पुराणका रचयिता व्यास जन्मभूमि तनहुँ, दमौलीलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पर्यटन, पुरातात्विक र ऐतिहासिक दृष्टिकोणले विश्व माझ प्रचार प्रसार गर्न विभिन्न प्रयासहरु थालनी भएका छन् ।
वैदिक सनातन धर्मका मूल दिव्य उपदेश र षड्दर्शनलाई विश्वबजारमा चेतनामुलक सन्देश दिँदै नेपाल राष्ट्रको शान्ति धार्मिक सहिष्णुता कायम गर्ने मूल उद्देश्यका आठौं विश्व ऊंकार हिन्दु महा मिलन पर्वको अवसर पारेर यहि कात्तिक १६ गते देखि २३ गतेसम्म विश्व हिन्दु महासंघ नेपाल स्याङ्जा शाखाको आयोजना तथा वेद अनुयायी प्रतिष्ठान नेपाल र विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा तनहुँले विश्व शान्ति आध्यात्मक चेतनामूल श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ ।
मूल समारोह समितिका संयोजक पण्डित हरिहर पाण्डेयले मंगलबार व्यास गुफा पर सरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराउँदै पवित्र व्यास भूमिको गरिमा र महत्वलाई विश्वमाझ पुर्याउन र धार्मिक पर्यटन प्रवधर्न गर्न कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।
वेद अनुयायी प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष कृष्ण कान्त काफ्लेले व्यासद्वारा रचित आध्यात्मिक श्रीमद्भागवतका कथाहरू नै हरिनाम सङ्किर्तन महापुराणको प्रवचन हुने बताए। उनि भन्छन् ‘ भागवत ज्ञान महायज्ञ आर्थिक संकलनको हिसाबले नभई ज्ञान प्रवाह गर्ने हेतुले र व्यास भूमिको प्रचारप्रसार गर्ने पवित्र उद्देश्यले आयोजना गर्न लागिएको हो’ ।
कार्यक्रममा सचिव मुकुन्द प्रसाद डोटेलले महायज्ञमा ४० देखि ५० जिल्लाका भक्तजनहरुको उपस्थिति र संस्कृत विद् डा. जगमान गुरुङले उद्घाटन गर्ने जानकारी गराए।
























