प्रहार समाचार । तनहुँ ६ कात्तिक २०८१ मङ्गलबार । तनहुँको व्यास नगरपालिका वडा नं ४ का वडा सदस्य एवं यूवा नेता सरोज भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट नेपाली काङ्ग्रेस साहित्य , कला तथा संस्कृति विभागको सदस्य पदको मनोनयन पत्र लिएका छन्।

सभापति शेरबहादुर देउवाले गत भाद्र २७ गते नेपाली कांग्रेसको विधान २०१७ ( संशोधन सहित ) को धारा २५ ( ९ ) बमोजिम पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना प्रमुख रहने गरि ११ सदस्य रहने गरि नेपाली काङ्ग्रेस साहित्य, कला तथा संस्कृति बिभागमा मनोनित गरेका थिए ।
पार्टी सभापति देउवाले विभागका प्रमुख विद्यादेवी तिमिल्सीना सहित ११ जना सदस्यहरुलाई हिंजो देउवा निवास बुढानिलकण्ठमा एक कार्यक्रमका बिच मनोनयन पत्र हस्तान्तरण सहित सम्मान गरेका हुन् ।

त्यस अवसरमा बोल्दै पार्टी सभापति देउवाले नेपाली कांग्रेसले साहित्य , कला तथा संस्कृति संरक्षणमा एक कदम अगाडी बढेर काम गर्नु पर्ने बताए । मनोनित सदस्यहरुले आफूले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्दै साहित्य , कला तथा संस्कृतिको संरक्षणमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सभापति देउवाले मनोनित गरिएको पत्रसहित सबैलाई माला लगाई सम्मान गरेका थिए ।
मनोनित अन्य सदस्यहरूमा यज्ञराज उपाध्याय अछाम, राजेन्द्र खत्री काठमाडौँ, रविन्द्र खड्का काभ्रेपलाञ्चोक, रमेश कोइराला चितवन, चन्द्र शर्मा दाङ , रिसबदेव घिमिरे ललितपुर , शान्ति सदा सिराहा , देशु सुहाङ्ग पाँचथर र गणेश हमाल दैलेख रहेका छन् ।

























