प्रहार समाचार । तनहुँ , ४ कात्तिक २०८१ आइतबार । हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। शुक्रबार राजधानी काठमाडौँ रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरेर पोखरा लगिएका लामिछानेलाई कास्की प्रहीले हिरासतमा राखेको छ ।

उनलाई आज अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रवार पक्राउ गरेर रातारात पोखरा लगिएको थियो । हिंजो शनिवार परेको आजमात्रै अदालत खुल्ने भएपछि उपस्थित गराउन लागिएको हो ।
कास्की जिल्ला अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि लामिछाने पक्राउ परेका थिए ।
सभापति लामिछानेमाथि गोरखा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत मिडियामा लगेर अपचलन गरेको आरोप लागेको छ । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उनले सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिश गरेको थियो ।

























