प्रहार समाचार । तनहुँ २३ असोज २०८१ बुधबार । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८१ को अबसरमा शुभकामना दिंदै खुसी हुन र रमाउन दशैं नै पर्खनुपर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले सुखी र सुख प्राप्त गरेको हेर्ने चाहना रहेको बताएका छन्।

आज यसवर्षको दसैंको शुभकामना दिंदै पूर्व राजा शाहले भनेका छन् – ‘ हाम्रा घर आँगनमा हाम्रो सांस्कृतिक पर्व बडा दशैं आइपुगेको छ। उल्लास र उमङ्गको यो सामाजिक पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूमा हामी मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। ‘
‘खुसी हुनु र रमाउन दशैं नै पर्खनुपर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले सुखी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वभाविक हो । जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणी दरबार छाडेका थियौँ। तर दुई दशक पूरा हुनै लाग्दा पनि स्वदेशमै हर्षका साथ रहेर नेपाली जनताको आकांक्षा पूरा नहुँदा हाम्रो बेचैनी बढेको छ । ‘
‘ नेपालमा अहिले अत्यन्तै असहज अवस्थामा छ । निरन्तरको परनिर्भरता र ऋणको भारले थिचिएको छ। हाम्रो गाउँ बस्ती र सहर क्षेत्र क्रमश युवा शक्तिविहीन बन्दै गएको छ। आज मुलुकमा युवा शक्ति कमाउने र रमाउने वातावरण बन्न सकेको छैन । युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहाली लाग्दो अवस्था भोग्दैछ । रोजगारीको निमित्त विदेशिनुपर्ने बाध्यात्मक अवस्थाले हाम्रो खेतबारी मात्र बाँजो तुल्याएको होइन हरेक बाबुआमाको मन पनि काँडाले बिजाएको छ। हामीले मुलुकमा शान्ति , स्थायित्व,अमनचैन, र समृद्ध बाहेक अर्को इच्छा कहिले राखेनौ । देशको सार्वभौम स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावको स्थिति अटुट राख्ने हाम्रो चाहना हो। बाह्य शक्ति राष्ट्रको दबाब र दुष्प्रभाव हामी कहाँ नबढोस् , यो देश अरुको खेल मैदान नबनोस् , हाम्रो भूमि कुनै प्रकारको अशान्तिको चपेटामा नपरोस् भन्ने नै हाम्रो गहिरो ध्यान दृष्टि थियो र सधैं रहनुपर्दछ ।’
पूर्व राजा शाहाको शुभकामना सन्देशको अन्यमा भनिएको छ : ‘एक्काइसौँ शताब्दीको पहिलो दशकदेखि नै क्षेत्रीय एवं अन्तर्राष्ट्रिय दबाब झन् गहिरो हुँदै गइरहेको छ। यसको प्रभावबाट नेपाल पनि चोखिन सकेको छैन । राष्ट्र राष्ट्रहरूको बीचमा विश्वासको संकट चुलिदै गएको परिदृश्य स्पष्ट नै छ। भूराजनीतिक अवस्थाको कारणले गर्दा हाम्रो देश अछुतो रहन सकेको छैन । महाशक्तिहरु बीचको तनाव र स्वयं घोषित नवशक्तिहरूको अहमता बढ्दै गएको छ। यस्तो अवस्थामा नेपाल ‘शान्ति राष्ट्र’ को रूपमा घोषित होस् र यसैबाट विश्व परिचित होस् भन्ने हाम्रो मान्यता र आग्रह छ। यस दिशातर्फ हामी सबैको राष्ट्रिय सङ्कल्प हुनैपर्छ । नेपालका बारेमा नेपालीहरू नै निर्णायक हुनुपर्दछ भन्ने हाम्रो सोचको अपरिहार्यता वर्तमानमा देखाएको अन्योल र अराजकताले झन् पुष्टि गरेको छ । ‘
पूर्व राजा शाहको शुभकामना सन्देश :

























