प्रहार समाचार । पोखरा २३ असार २०८१ । दिगो व्यवसाय र व्यवस्थापन सम्बन्धि दुई दिने अन्तर्राष्ट्रिय गोष्ठी शनिवार पोखरामा सम्पन्न भएको छ। गोष्ठीको उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोग भक्तपुरका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई ससाना र मझौला उद्यम गर्नमा प्रेरित गर्नका लागि विश्वविद्यालय अनुदान आयोगले विद्यार्थीहरुलाई लगानी उपलब्ध गराउने नीति अवलम्बन गरेको बताए । अध्यक्ष प्रा. डा. अधिकारीले यसलाई अझ बढाउनका लागि नेपाल सरकार र उद्यमी व्यावसायिक क्षेत्रमा लागेका संघ संस्था र क्याम्पसहरुले स्रोतहरू परिचालन गर्नुपर्नेमा जोड दिए । उनले भने “उच्च शिक्षालाई उद्धम र व्यावसायिकतासँग जोड्न विश्वविद्यालयहरूले निर्माण गर्ने पाठ्यक्रममा ती विषयहरूलाई प्राथमिकता दिएर राख्न अति जरुरी भइसकेको छ ” ।

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखराको आयोजना र आदिकवि भानुभक्त क्याम्पस, दमौली तनहुँ र सिनाबात्र विश्वविद्यालय, थाइल्याण्डको सह आयोजनामा विश्वविद्यालय अनुदान आयोग भक्तपुरको सहयोगमा भएको थियो।
कार्यक्रममा नेपालका त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय तथा थाइल्यान्डको सिनाबात्र विश्वविद्यालय र भारत तथा बेलायतका विश्वविद्यालयहरूका ६६ जना प्राध्यापकहरुले सोधपत्रहरू प्रस्तुत गरेका थिए ।
गोष्ठीमा योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर दिपेन्द्रबहादुर क्षेत्री (प्यालिस्ट), उद्योग वाणिज्य सङ्घका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी (प्यानलिस्ट), पोखरा विश्वविद्यालयका पूर्व निमित्त भाइस चान्सलर
प्रा. डा. इन्द्र प्रसाद तिवारी (प्यानलिस्ट तथा कि नोट स्पिकरकि नोट स्पिकर) सिनावात्रा विश्वविद्यालयको लजिस्टिक एण्ड सप्लाई चेन विभागका अध्यक्ष प्रोफेसर डा. के महबुल हाय (प्यानलिस्ट तथा कि नोट स्पिकर), नबिल बैंकका साना तथा मझौला उद्यम माइक्रो फाइनान्स कार्यक्रमका प्रमुख अमित श्रेष्ठ (प्यानलिस्ट) र पोखरा विश्वविद्यालयका एसोसिएट डा. प्रोफेसर सूर्यबहादुर जिसी (प्यानलिस्ट तथा कि नोट स्पिकर) रहेका थिए ।
गोष्ठीको सहआयोजक रहेको आदिकवि भानुभक्त क्याम्पसका प्राध्यापक कर्मचारीहरूले उक्त गोष्ठीको आयोजना र सञ्चालनका लागि गठन भएका विभिन्न उपसमितिको पदाधिकारी सदस्य पदमा र सचिवालयमा रहेर काम गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले प्रहार समाचारलाई बताए ।
कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिको अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुख सागर पौडेल, गुणस्तर सुनिश्चितता समितिका प्रमुख विश्वेश्वर तिमल्सेना, व्यवस्थापन विभागका प्रमुख रामभक्त घिमिरे, बीबीए कार्यक्रमका निर्देशक दीपा थापा, लेखा अधिकृत विष्णुप्रसाद रिजाल, एमआईएस अधिकृत इन्जिनियर अनमोल प्रधान लगायतको सहभागिता रहेको थियो । क्याम्पसको तर्फबाट अर्थशास्त्रका उपप्राध्यापक जनक काफ्लेले शोधपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन एवं समापन कार्यक्रमको अध्यक्षता गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले गरेका थिए भने गोष्ठीको संयोजन क्याम्पसका सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले गरेका थिए ।

























