प्रहार समाचार । काठमाडौं १७ असार २०८१। संविधान संशोधनमार्फत निर्वाचन प्रणालीमा सुधार गर्नेलगायत एजेन्डालाई केन्द्रमा राखेर नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने भद्र सहमति भएको छ ।

प्रतिनिधि सभाको बाँकी कार्यकालमा आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमतिनजिक पुगेको विश्वस्त स्रोतले जानकारी दियो । देशलाई राजनीतिक स्थायित्व र निकास दिने रोडम्यापसहित कांग्रेस र एमालेका दोस्रो तहका नेताले लामो समयदेखि गृहकार्य गरिरहेका थिए
असार १५ गते शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा ३ घण्टा लामो छलफलपछि दुई दलबीच सहमतिका लागि घनीभूत प्रयास भइरहेको छ ।
राजनीतिक अस्थिरताका कारण देश असफल बन्ने खतरा महसुस भएर त्यो गम्भीरताका साथ देशलाई निकास दिनुपर्छ भनेर यो प्रयास भएको हो, हामी सहमतिको धेरै नजिक छौं,’ कांग्रेस उच्च स्रोतले भन्यो, ‘देशको आत्मबल उठाउने गरी हामी छिट्टै सकारात्मक सन्देश दिँदैछौं ।’
स्रोतका अनुसार पहिलो कार्यकालको प्रधानमन्त्री ओलीलाई दिन देउवा सहमत भएका छन् । यसबारे असार १६ गते आइतबार दुई नेताबीच कुराकानी भएको स्रोतको भनाइ छ । शनिबार ३ घण्टा लामो कुराकानी गरेका देउवा र ओलीबीच आइतबार कुनै व्यक्तिको घरमा वार्ता भएको थियो । देउवाले ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेपछि सत्ता गठबन्धनमा खैलाबैला उत्पन्न भएको थियो ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले मिल्ने कुरा असम्भव भन्दै मन्त्रीहरूलाई आश्वस्त पार्न कोशिश गरेका थिए । नेकपा एमालेका एक प्रभावशाली नेताले राजनीतिक स्थायित्वका लागि ठूला दल मिल्ने कुरा स्वाभाविक हुने बताए । ‘झ्याली पिटेर यस्तो सहमति हुँदैछ भन्दै हिँड्ने कुरा भएन, छिट्टै सहमति भएपछि थाहा पाउनुहुन्छ,’ एमालेका ती नेताले भने । लोकान्तर अनलाईन बाट
























