प्रहार समाचार । तनहुँ १६ असार २०८१ । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि सेवामुलक संस्थासँग सहकार्य गरि व्यास नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा वडा—वडामा नै स्वास्थ्य परिक्षणका कामहरु गर्ने बताएका छन् ।स्वास्थ्यको पहुँच बाट टाढा रहेका महिला, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य प्रति आफू संवेदनशील रहेको चर्चा गर्दै न्यौपानेले पालिकाका १४ वटै वडामा देखिने गरि जनताको स्वास्थ्यमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नगर प्रमुख न्यौपानेले उक्त प्रतिबद्धता व्यास नगरपालिका वडा नं १४ स्थित केशवटारमा शनिवार १ दिने निशुल्क स्वास्थ्य शिविरको शनिवार उद्घाटन गर्दै गरेका हुन्। आरजे शाही फाउन्डेसनको आयोजना, व्यास नगरपालिका तथा वडा नं १४ को सहकार्य एवम् फिस्टेल हस्पिटल पोखराको सहयोगमा निशुल्क शिविर आयोजना गरिएको थियो ।
शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ परिक्षण गरि सम्बन्धित रोगको निशुल्क औषधि पनि वितरण गरिएको थियो । शिविरबाट केशवटार, कुलुङ्ग, ठिन, रामकोट लागयतका क्षेत्रका ३ सय ३३ जना बिरामीहरु लाभान्वित भएका फाउन्डेसनका संस्थापक रजनजंग शाहीले जानकारी दिए ।
सिविरमा फिस्टेल हस्पिटल पोखराका अध्यक्ष हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.भोला श्रेष्ठको नेतृत्वमा २४ स्वास्थ्य कर्मी तथा ३० जना स्वयंसेवक परिचालित थिए । विरोषज्ञ टोली सहितको चिकित्सकहरुद्वारा स्वास्थ परिक्षण गरिएको उक्त शिविरमा मुटु रोग सम्बन्धि डा.विश्व बराल, बाल रोग सम्बन्धि डा .दिलीप ओझा, महिला तथा स्त्रीरोग डा. पुर्णिामा गुरुङ, डा.एलिजा दुलाल, भुवन गिरि लगायतका चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।
त्यस अवसरमा ८० जनाको सुगर परिक्षण पनि गरि बिरामीलाई निशुल्क औषधी वितरण गरिएको थियो । सोही अवसरमा फिष्टेल हस्पिटल पोखराका अध्यक्ष डा. भोला श्रेष्ठले आवश्यक परेको खण्डमा आगामी दिनमा पनि स्थानीय स्तरमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस अवसरमा फाउन्डेसनको तर्फबाट अपार पौडेल, संस्थाका डा.एलिजा दुलाल , वडा अध्यक्ष काजिमान श्रेष्ठ लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।


























