प्रहार समाचार । काठमाडौँ १६ असार २०८१ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान विभागले पाँच प्रदेशमा अधिक वर्षा हुने भएकाले सचेत रहन आग्रह गरेको छ।

विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न तथा त्यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आइतवार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।
विभागका अनुसार आइतवार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, आइतवार राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र देशका बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।
























