प्रहार समाचार । तनहुँ, ११ असार २०८१ । तनहुँको भानु नगरपालिकाको १४ औं नगर सभाले आगामी आर्थिक वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा गरेको छ ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा भएको नगर सभामा उप प्रमुख उमा गोतामेले ८५ करोड १६ लाख ७४ हजार रकम खर्च हुने प्रस्ताव पेश गरिन् । कुल विनियोजन मध्ये चालुतर्फ ६४ करोड ११ लाख ९१ हजार (संघिय सशर्त अनुदान चालु तर्फ ३९ करोड ७७ लाख शिक्षक विद्यालय कर्मचारी, स्वास्थ्य तथा आयूर्वेद तर्फका कर्मचारिको तलब, पोषाक र महंगी भत्ता खर्च समेत गरी चालु तर्फ प्राप्त भएको हुँदा चालु खर्च धेरै देखिन गएको र आन्तरीक स्रोत तर्फ ४५ करोड ३९ लाखमा चालु खर्च र पुँजीगत खर्च र पुँजीगत तर्फ २१ करोड ४ लाख ८३ हजार रहेको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १३ करोड ६१ लाख, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व बाँडफाँड र १३ करोड ७ लाख ९९ हजार २ सय ४३ ,सशर्त अनुदान चालु र पुँजीगत ४१ करोड १२ लाख ३५ हजार, संघीय विशेष अनुदान ३ करोड, क्रमागत ठेक्का योजना ३ करोड, ,प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १ करोड ८८ लाख ३८ हजार, प्रदेश राजस्व बाँडफाँड १ करोड ३६ लाख ५१ हजार, प्रदेश विशेष अनुदान रु. ४० लाख, प्रदेश समपुरक अनुदान ६० लाख, आन्तरिक राजस्वबाट प्राप्त हुने ३ करोड २५ लाख अनुमान गरिएको छ । अनुमान गरिएको आम्दानीले अपुग हुन आउने न्यून पूर्ति गर्न चालु आर्थिक वर्षको असार मसान्त सम्म खर्च भई बाँकी रहने अनुमानित नगद मौज्दात ३ करोड ८५ लाख ५० हजार अनुमान गरिएको छ । समपुरक अनुदान तथा अन्य अख्तियारी मार्फत प्राप्त हुने बजेटहरु स्थानीय संचितकोष व्यवस्थापन प्रणालीमा प्रविष्टि गरीबजेटको कार्यान्वयनमा नागरिक सहभागितालाई नागरिकको अधिकारको रुपमा स्थापित गरी सुशासन र जनता प्रति पूर्ण जिम्मेवार पूर्वक भूमिका निर्वाह गर्ने कार्यमा स्थानीय सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको उप प्रमुख गोतामेले बताइन्।
नगरपालिकाले सर्बसुलभ स्वास्थ्य, गुणस्तरीय शिक्षा, खानेपानी तथा सरसफाई , संस्कृति प्रबर्द्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको विकास मार्फत सामाजिक विकास, कृषि, पशुपालन, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी, वित्तीय क्षेत्रको विकास मार्फत आर्थिक विकास, सडक तथा झोलुङ्गे पुल, सिंचाई, भवन तथा शहरी विकास, उर्जा तथा सञ्चार क्षेत्रको विकास मार्फत पूर्वाधार विकास, वन, वातावरण तथा जनसहभागितामा आधारित विपद् ब्यवस्थापन, सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार गरी आधुनिक प्रविधिमैत्री सार्बजनिक सेवा प्रवाह सुशासन तथा संस्थागत विकासलाई जोड दिईएको छ ।
.
स्वास्थ्य क्षेत्र तर्फ :
“स्वस्थ गाउँशहर भानुको बहार, जनताको घर दैलोमा स्वास्थ्य उपचार“ भन्ने उदघोष सहित समग्र स्वास्थ्य सेवा र स्वस्थ मानवपुंजी निर्माणका लागि सशर्त रआन्तरीकगरी स्वास्थ्य तथा आयुर्बेद क्षेत्रमा जम्मा ७ करोड १८ लाख ५२ हजार बजेट विनियोजन गरिएकोमा नागरिकको आरोग्यतालाई ध्यानमा राख्दै महामारी रोग नियन्त्रण कार्यक्रम अन्तर्गत डेंगु लगायतका किटजन्य रोगहरुको नियन्त्रणका लागि ३ लाख, क्षयरोगमुक्त घोषणा अभियानका लागि २२ लाख ६० हजार र मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, रक्तसंचार, न्यानो झोला, निःशुल्क गर्भपतन र नवजात शिशुको निःशुल्क उपचार कार्यक्रमका लागि ६ लाख ३० हजार बजेट विनियोजन गरिएको छ । त्यसैगरी महिलाहरुको पाठेघरको मुखको क्यान्सर बिरुद्ध खोप अभियान कार्यक्रम सञ्चालनका लागि ४ लाख ३० हजार बजेट विनियोजन गरिएको छ ।
मृगौला प्रत्यारोपण गरेका / डायलाईसिस गराईरहेका / क्यान्सर रोगी / मेरुदण्ड पक्षघातका व्यक्तिहरुलाई मासिक ५ हजारका दरले वितरण गर्न ५१ लाख ६५ हजार बजेट विनियोजन गरिएको छ । विपन्न नागरीकहरुको निःशुल्क स्वास्थ्य विमा कार्यक्रम /स्वास्थ्य बिमा फार्मेसी /आँखा उपचार केन्द्र र मेयर संग जनस्वास्थ्य अभियान कार्यक्रमका लागि ४१ लाख बजेट विनियोजन गरिएको छ ।
पुरनडिही नगर अस्पतालमा डिजिटल एक्सरे मेसिन खरिद र कालिमाटी नगर अस्पतालमा एक्सरेको प्रिन्टर खरिदका लागि १७ लाख र पुरनडिही अस्पताल आयूर्वेद सेवा कार्यक्रम (प्रदेश सरकार मार्फत कर्मचारी व्यवस्थापन भएकोमा सेवा सञ्चालन व्यवस्थापन) का लागि ३ लाख बजेट विनियोजन गरिएको छ ।
शिक्षा तर्फ :
सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न विद्यालयमा सबै वर्ग र क्षेत्रका बालबालिकाको पहुँच सुनिश्चित गर्न अनुकुल शैक्षिक वातावरण सिर्जना गर्न, बाल अधिकारको सुनिश्चितता कायम गरी बालमैत्री स्थानिय शासनलाई प्रभावकारी कार्यान्वयन लगायत शिक्षा विकासका लागि सशर्त अनुदान तर्फ ३२ करोड ३८ लाख ४५ हजार र आन्तरीक स्रोततर्फ ३ करोड ५१ लाख गरी जम्मा ३५ करोड ८९ लाख ४५ हजार बजेट विनियोजन भएको छ ।
भानु नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता लेखा सहायक र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत सबै कर्मचारीहरुलाई श्रम ऐन २०७४ बमोजिम नेपाल सरकारले तोकेको न्यूनतम् पारिश्रमिक निर्धारण गरी सम्पूर्ण शिक्षक कर्मचारीहरुको मनोबल बढाइनेछ।यसका लागि १ करोड ९९ लाख ४३ हजार ८ सय २० रुपैंया बजेट विनियोजन भएको छ ।
भानु नगरपालिकाले स्वीकृत गरेको भानुको पहिचान झल्काउने स्थानीय पाठ्यक्रम (हाम्रो भानु) का आधारमा आधारभूत तह कक्षा १–८ को स्थानीय पाठ्यपुस्तक हाम्रो भानु निर्माण तथा छपाइ गरी सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुमा वितरण गर्नका लागि रु २३ लाख बजेट विनियोजन गरिएको छ ।
भानु नगरपालिकामा सञ्चालित प्राविधिक शिक्षालयमा तीनवर्षे कार्यक्रममा अध्ययनरत २४ जना विद्यार्थीका लागि प्रदान गरिने वार्षिक जनही ५० हजारको छात्रवृत्तिलाई निरन्तरता दिनका लागि रु १२ लाख बजेट विनियोजन लक्षीत वर्गका बालबालिकाको भर्नादरमा वृद्धि¸ सिकाइमा निरन्तरता¸ बीचैमा कक्षा छाड्ने दरमा न्यूनीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले सामुदायिक विद्यालयमा अध्ययनरत बाल विकास केन्द्र देखि कक्षा ५ सम्मका बालबालिकाका लागि नेपाल सरकारले दिवा खाजा कार्यक्रम अन्तर्गत दैनिक प्रति विद्यार्थी १५ का दरले बजेट व्यवस्था गरेकोमा उक्त रकम हालको महंगीको अनुपातमा अत्यन्त न्यून भएकोले उक्त रकममा वृद्धि गर्न शिक्षाका विभिन्न सरोकारवालाहरुबाट आग्रह भैआएको सन्दर्भमा भानु नगरपालिकाको तर्फबाट उक्त रकममा प्रति विद्यार्थी प्रति दिन ५ थप गरी वार्षिक १८० दिनका लागि २० को खाजा खुवाउने प्रबन्ध गरिनेछ ।साथै यस वर्ष देखि कक्षा ६ का बालबालिकाका लागि पनि २० का दरले दिवा खाजा खुवाउनका लागि दिवा खाजा व्यवस्थापनमा ४५ लाख बजेट विनयोजन गरिएको छ । सामुदायिक सिकाइ केन्द्र अन्तर्गत गठित महिला आयआर्जन समूहहरुका लागि मागमा आधारित विषयगत तालिम र सिडमनी प्रदान गर्न बालबालिकाको शारीरिक तन्दुरुस्ती र मानसिक स्फूर्तिका लागि राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता तथा जनप्रतिनिधि शिक्षक तथा कर्मचारीहरु बीच मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सञ्चालन गर्नका लागि १२ लाख ७० हजार बजेट विनियोजन गरिएको छ ।
पूर्वाधार विकास एवं पुँजीगत क्षेत्र तर्फ :
पूर्वाधार विकास एवं पुँजीगत क्षेत्र अन्तर्गत एकमुष्ठ रुपमा २१ करोड ४ लाख ८३ हजार बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षमा पूर्वाधार विकास कार्य तथा पूर्वाधार संरचना निर्माण गर्दा वातावरणमैत्री रुपमा निर्माण गर्ने कार्यलाई जोड दिंदै क्रमागत कार्यक्रम अन्तर्गत कालिमाटि अस्पतालका लागि ३ करोड बजेट विनियोजन गरिएको छ । पञ्चनगर माझदिही, सुकुम्बासी टोल पाँउदी झोलुङ्गेपुल, कृपेश्वर नौदी खोला, ढाडखोला निबुवाश्वाँरा, निबुवाश्वारा आलेस्वादीका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।
भानु नगरपालिका वडानं. १२ र १३ जोड्ने गाउँ सेवा कोष मार्ग स्तरोन्नतीका लागि २० लाख बजेट विनियोजन गरिएको छ । भानु नगरपालिका वडा नं. २ मा रहेको सहिद स्मृती पर्यटन पार्क निर्माण का लागि ७० लाख बजेट विनियोजन गरेको छु । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत खरको छाना विस्थापितका लागि २८ लाख र कोल्ड च्याम्बर निर्माणका लागि ७ लाख बजेट विनियोजन गरिएको छ । प्रतिफल मुखी ठोस र ठुला नगर गौरवका आयोजना का लागि २ करोड ५० लाख र मागको आधारमा आउने साना योजनाहरु सम्बोधनका लागि ६५ लाख बजेट विनियोजन गरेको छु । टोल/ बस्ती र वडा स्तरीय आवश्यकता पहिचान र सहभागितात्मक योजना तर्जुमा मार्फत सबै वडाको समग्र विकासका लागि ९ करोड १० लाख बजेट विनियोजन गरेको छ ।
कालीमाटी मानेचौका कुन्छा मोटर मार्ग, भिसी शेरबहादुर मोटर मार्ग, गडिमाई भ्यू टावर निर्माण,रातमाटा वडा कार्यालय राईपाली मोटर मार्ग र अन्य योजना मा समेत गरी क्रमागत ठेक्का योजनाका लागि ३ करोड बजेट विनियोजन गरेको छ ।
वडा कार्यालयहरु सम्म सडकको पहुँच पुर्याउने कार्यका लागि समपुरक र अन्य योजनामा साझेदारीका लागि १ करोड ७० लाख बजेट विनियोजन गरेको छ । मस्र्याङ्दी लिफ्टिङ खानेपानी आयोजनाका लागि ४० लाख बजेट विनियोजन गरिएको छ ।
कृषि क्षेत्र तर्फ :
कृषि क्षेत्रमा सशर्त तर्फ ३७ लाख ७३ हजार र आन्तरिक स्रोत तर्फ ८५ लाख गरी जम्मा १ करोड २२ लाख ७३ हजार बजेट विनियोजन गरिएको छ । कृषि जैविक विविधता संरक्षण कार्यक्रम, कृषि स्नातक करार, किसान सूचीकरण कार्यक्रम र कृषि पशुपन्छी तथा मत्स्य तथ्याङ्कका लागि १२ लाख ८५ हजार बजेट विनियोजन गरिएको छ । बालि विकास कार्यक्रम अन्तर्गत स्थानीय हावापानी र माटो सुहाउँदो रैथाने बाली प्रवर्द्धन कार्यक्रमका लागि ६ लाख ७५ बजेट विनियोजन गरिएको छ । नयां तरकारी बाली पकेट विकास कार्यक्रमको लागि १२ लाख बजेट विनियोजन गरिएको छ। कृषि तथा पशु सेवाका एक गाँउ एक प्राविधिकहरुको तलब भत्ताका लागि ६ लाख ८८ हजार संघिय सरकारबाट र बाँकी तलब भत्ता आन्तरीक स्रोत बाट व्यहोर्ने गरी बजेट विनियोजन गरिएको छ । कृषि तथा पशुपन्छी सम्बन्धी, साना सिंचाई कार्यक्रम, प्लान्ट क्लिनिक, कृषि सम्बन्धी मिनि ल्याब स्थापना, मागमा आधारीत कार्यक्रम, भुमि बैंक, हाट बजार स्थापना तथा संचालन र साना किसानका लक्षित मिनि किट वितरण लगायतका कार्यक्रमका लागि एकमुष्ठ ८५ लाख बजेट विनियोजन गरिएको उप प्रमुख गोतामेले जानकारी दिइन्।
पशुपालन तर्फ :
सशर्त अनुदान तर्फ २ लाख २२ हजार र आन्तरिक श्रोत तर्फ ४५ लाख गरी जम्मा ४७ लाख २२ हजार बजेट विनियोजन गरिएको छ । दुधमा अनुदान, रेविज रोग नियन्त्रण, विज्ञ सहितको निःशुल्क पशु स्वास्थ्य शिबिर, जुनोटिक÷ महामारी तथा आकस्मिक रोग नियन्त्रण, कृषक सम्मान, औषधी खरिद लगायतका कार्यक्रमहरु सञ्चालनका लागि ४५ लाख बजेट विनियोजन गरिएको छ ।
बन वातावरण तथा विपद व्यवस्थापन तर्फ :
विपद जोखिम न्यूनिकरण, विपद प्रतिकार्य, पुनर्लाभ, पुनर्स्थापन तथा पुन निर्माण एंव उद्धार तथा राहत, स्थानिय आपतकालिन कार्य सञ्चालन केन्द्र सामाग्री खरिद र विपद व्यवस्थापन कोषका लागि एकमुष्ठ रुपमा ७० लाख बजेट विनियोजन गरिएको छ । सरसफाई व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट निर्माण गरी सो मा फोहोरको प्रशोधन कार्य गर्न आवश्यक बजेटको व्यवस्था गरिने भएको छ ।
संस्थागत विकास :
मेलमिलाप केन्द्र संचालन र व्यवस्थापन, जिल्ला स्तरीय न्यायिक समिति सम्मलेन, मुद्दा मिलापत्र, इजलास स्थापना, पुनर्ताजगी तालिम र अनुगमन ÷भ्रमण लगायतका न्यायिक समितिबाट सम्पादन हुने कार्यलाई थप व्यवस्थित बनाउन १४ लाख ७९ हजार बजेट विनियोजन गरिएको छ । सहकारी दिवस, कोपोमिस तालिम, सहकारी वार्षिक कार्ययोजना, पुरस्कार तथा प्रोत्साहन,ऋण व्यवस्थापन तालिम, निस्कृय सहकारी व्यवस्थापन लगायतका सहकारी सम्बन्धी सम्पूर्ण कार्यक्रम सञ्चालनका लागि १० लाख ६० हजार बजेट विनियोजन गरिएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम उद्यमीको स्तरोन्नति, नयाँ उद्यमी सिर्जना र प्रविधि हस्तान्तरण गर्न एकमुष्ट २२ लाख बजेट विनियोजन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार संयोजक, रोजगार सहायक, प्राविधिक सहायकको एकमुष्ट तलब र पोशाक भत्ता लगायत अन्य कार्यक्रमहरुको लागि एकमुष्ट ६५ लाख २२ हजार बजेट विनियोजन गरिएको छ । सुरक्षित आप्रवासन ( सामी ) परियोजना अन्तर्गत मनोसामाजिक परामर्शकर्ता र वित्तिय साक्षरता सहजकर्ताको तलब भत्तामा ५० प्रतिशत अनुदान,रोजगार प्रवर्द्धन कार्यक्रम, कर्मचारी भ्रमण, अभिमुखीकरण, अनुगमन मूल्याङ्कन, बिमा शुल्क , आदिका लागि १० लाख ९६ हजार संघिय सरकारबाट र ५० प्रतिशत तलब भत्ता आन्तरीक स्रोत बाट ६ लाख गरी १६ लाख ९६ हजार बजेट विनियोजन गरिएको छ । गरीबसँग विशेश्वर कार्यक्रम अन्तर्गत ७ लाख ३० हजार बजेट विनियोजन गरिएको छ । सार्वजनिक सेवा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि एकमुष्ठ १ करोड १२ लाख बजेट विनियोजन गरिएको छ ।


























