प्रहार समाचार । सिमरा, १० असार २०८१ । जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा विवाद उत्पन्न हुँदा कुर्ची हानाहान भएको छ। नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि कुर्ची हानाहान भएपछि झडप भएको हो ।

नगरसभामा सहभागी हुन मेयर राजन पौडेल नगर सभामा छिर्नसाथ उनीहरुले हुलदङ्गा गरेका थिए ।उनीहरुले सभास्थलमा रहेका कुर्सी र टेबल समेत तोडफोड गरेका छन् । माओवादी केन्द्रबाट मेयर बनेका पौडेल र पार्टीका प्रतिनिधिबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका थिए । त्यही कारण ६ र ८ असारमा नगरसभाको बैठक बोलाए पनि ४ दल सहभागी नहुँदा कोरम नपुगेर स्थगित भएको थियो ।
सोमबार मेयर पौडेलले वैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध गरेका हुन् । तोडफोड र विरोधमा वडा नम्बर २ का धनबहादुर श्रेष्ठ, वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नम्बर ६ का कैयुदिन अन्सारी र ७ का सुनिल गुप्तालगायत छन् ।
वडाध्यक्षहरूको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको घोषणा गरिएको छ ।























