प्रहार समाचार । साउदी अरब, असार ३ । साउदी अरबमा अत्यधिक गर्मीले हजका क्रममा जोर्डनका कम्तीमा १४ जना नागरिकको मृत्यु भएको छ । यसको जानकारी जोर्डनका अधिकारीहरूले दिएका हुन् ।

जोर्डनको विदेश मन्त्रालयका अनुसार लू लागेर १४ जोर्डन नागरिकको मृत्यु भएको छ । अरू १७ जना बेपत्ता रहेको बताएको छ । बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ ।
परिवारको इच्छा अनुसार मृतकका शव गाड्ने वा स्वदेश फिर्ता गर्ने प्रक्रियामा साउदी अधिकारीहरूसँग छलफल भइरहेको बताइएको छ । हज संसारको सबैभन्दा ठुलो धार्मिक कार्यक्रममध्ये एक हो । साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाखभन्दा बढीले हजमा भाग लिएका छन् ।
यस हप्ता तापक्रम ४६ डिग्री सेल्सियस नाघेकोले विशेष गरी वृद्ध वृद्धाहरूका लागि खुला वा पैदल हिँड्ने अनुष्ठानहरू गाह्रो भएको छ । यस वर्षको हजको समयमा मक्का र मदिनामा औसत तापक्रम १ दशमलव ५ देखि २ डिग्री सेल्सियसले बढ्ने सम्भावना रहेको साउदी अरबको मौसम विज्ञान केन्द्रका प्रमुख अयमान गुलामले गत हप्ता चेतावनी दिएका थिए ।
समाचार एजेन्सी एएफपीका अनुसार इरानी रेड क्रिसेन्टले पाँच इरानी हज तीर्थयात्रीको मृत्यु पनि पुष्टि गरेको छ । तर उनीहरूको मृत्यु कसरी भयो भन्ने बताइएको छैन ।
























