प्रहार समाचार । तनहुँ, जेठ ३२ । तनहुँ जिल्लकै पहिलो बन्दीपुर केबुलकार बिहीबारबाट सञ्चालनमा आएको छ। केबुलकार संञ्चालनमा आएसँगै पहाडकी राती पर्यटकीय नगरी बन्दिपुरुमा केवलकारबाट सरर जान पाइने भएको छ । केवलकार सञ्चालनमा आएसँगै बन्दिपुरमा स्वदेशी तथा विदेशी पर्यटकको आगमनमा उल्लेख्य बृद्धि हुने आशा गरिएको छ।

सेवा शुभारम्भको अवसरमा ६० प्रतिशत छुटको व्यवस्था गरिएकाले ३६० रुपियाँमा आवतजावतको व्यवस्था मिलाइएको बन्दीपुर केबुलकार तथा टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। छुटको व्यवस्था एक साताका लागि गरिएको छ । शर्माका अनुसार अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त भएकाले व्यावसायिक रूपमा जेठ ३१ बाट सञ्चालनमा आएको हो ।
टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको कम्पनीले जनाएको छ । शर्माले भने “कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी पछि मात्रै केबुलकार सञ्चालनमा ल्याएका हौँ ।”
केबुलकारबाट ९० डिग्रीको ठाडो चट्टान अरोहण गरे झैँ साहसिक अनुभूति लिन सक्ने भएको पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास लिइएको लिमिटेडको उपाध्यक्ष किरण पोखरेलले बताए ।
बन्दीपुर गाउँपालिका–४ को डुम्रे बजारनजिकै केबुलकार चोकदेखि मन्दिरसम्म एक हजार सात सय मिटर दुरी सात मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार केबुलकारको ३१ मध्ये २१ वटा यात्रु बोक्ने डिब्बा रहेको छ । प्रतिघण्टा पाँच सय जना यात्री बोक्न सक्ने क्षमता रहेको यस केबुलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ देखि राति ११ बजेसम्म चल्ने कम्पनीले जनाएको छ ।


























