प्रहार समाचार ।तनहुँ, चैत २३ । राष्ट्रपति रामचन्द्र पौडेलले अनुशासित, सीपवान र शीलवान नागरिक तयार गर्ने संस्कार र शिक्षा दिन जरुरी रहेको बताएका छन् ।

जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औं वार्षिकोत्सव तथा नवनिर्मित भवन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पौडेले भने ‘पुरानो शैली र ढर्रालाई त्यागेर नीति निर्माण र योजनातहमा बस्नेले ग्लोबज भिलेजको जमानमा जहाँ कही बस्ने र जहाँसुकै पुग्नेलाई प्रतिस्पर्धी, योग्य, स्वरोजगार, स्वाबलम्बी र आत्मनिर्भर हुने खालको शिक्षा दिन सक्नुपर्दछ ‘ । राष्ट्रपतिले राष्ट्रप्रेम र देशभक्ति त छदैछ देश निर्माण गर्ने एक सामाजिक अगुवा एवं शिक्षानुरागीहरूको अथक प्रयासमा डेढ दशक अघि ग्रामीण क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले यस क्याम्पसको स्थापना हुनु खुशीको विषय भएको प्रसंग उल्लेख गर्दै तनहुँ, स्याङ्जा, नवलपुर र पाल्पा जिल्लाबाटसमेत उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरूको गन्तव्यको रुपमा यसको महिमा बढ्दै जानु स्वभाविक भएको धारणा व्यक्त गरे ।

राष्ट्रपति पौडेलले भीमाद बजार र सेरोफेरो गुल्जार हुँदै गएपछि यहाँका शैक्षिक संस्थाको महत्व बढ्नु स्वभाविक भएको र यस क्षेत्र विस्तारै सडक, शिक्षा र सञ्चारसँगै विकासको बाटोमा अघि बढेको छ बताउँदै भीमादबाट रिसिङ, भीरकोट हुँदै चितवन र रिसिङ राम्जाकोट, पिपलटार हुँदै नवलपरासीसम्मको फराकिलो सडक पूर्वाधार बनाएर उत्तर र दक्षिणका छिमेकी देशलाई जोड्ने संभावनातर्फ पनि ध्यान दिनुपर्ने बताए ।
वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने स्पष्ट पार्दै राष्ट्रपति पौडेलले अगाडि भने ‘राजनीतिक अस्थिरताको श्रृङखलाले यो देश र व्यवस्थालाई अप्ठयारो नहोस भन्ने मेरो चिन्ता हो मैले प्रधानमन्त्रीलाई पनि यही भनेको छु,’ तपाइहरूको राजनीतिमा मेरो भन्नु केही छैन तर राजनीतिक अस्थिरताले देश र व्यवस्थालाई अप्ठ्यारो नहोस भन्ने मेरो चिन्ता हो, प्रधानमन्त्रीले तपाई र म रहेसम्म केही हुँदैन भन्नुभएको छ” । ‘ तपाईहरुले मलाई यो देश र व्यवस्था बचाउने जिम्मा दिनुभएको छ, यो संविधान, देश र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन म रहेसम्म निष्ठापूर्वक लागिरहने तपाईहरुसँग कवुल गर्दछु ।”
राष्ट्रपति पौडेलले तनहुँ जिल्लालाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुईवटा दृष्टिकोण र कार्यक्रम रहेको उल्लेख गर्दै भने “ एउटा जिपी कोइराला श्वास प्रश्साव केन्द्रलाई शिक्षण अस्पताल बनाउने र अर्को संसारमा कुनै पनि नेपालीले एक पटक नआई नहुने भानु साहित्य उद्यान, यसैले यो तनहुँलाई विशिष्ट जिल्ला बनाउँछ । ”
राष्ट्रपतिले विकासको कुरा रोकेर कानुनको कुरा गर्न नहुनेतर्फ न्यायक्षेत्रको ध्यानाकर्षण गराउँदै विकासको काम रोकेर कानुनको कुरा नगरौ, न्याय पनि जनताको पक्षमा हुनुपर्छ यो मेरो सुझाव र सल्लाह हो’ ।
सङ्घीय सरकार, स्थानीय सरकार, क्याम्पस तथा चन्दा सङ्कलनबाट गरी करिब एक करोडको लागतमा तीनतले भवन निर्माण सम्पन्न भएको हो।
























