प्रहार समाचार । काठमाडौँ, चैत २० ।मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने भएका छन् ।

नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बाबु बुद्धकृष्ण बाग श्रेष्ठले आफ्ना कान्छा छोरा सुजनलाई गत वर्ष जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए।
चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुत्केरो परेकालाई छुन नहुने, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने परम्परा कायमै रहेको छ। जिब्रो छेड्न तयार भएका युवक सुजनले आफू सानैदेखि बुबाले जिब्रो छेडेर जात्रा चलाएको हेर्दै आएको बताउँदै जात्रा जोगाउन आफू यस वर्ष पनि जिब्रो छेड्न तयार भएको प्रतिक्रिया दिए ।
जात्राअघि चैत २७ गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाःको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा छ ।
























