प्रहार समाचार । तनहुँ , चैत १५ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा तनहुँका १० वटा गाउँपालिका मध्ये यस वर्ष तनहुँको भिमाद नगरपालिका प्रथम हुन सफल भएको छ।

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्क समेतका आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कनका आधारमा भिमाद नगरपालिका ४१ दशमलव ७६ प्रतिशत अङ्क प्राप्तगरि प्रथम भएको हो। कार्यसम्पादन मूल्याङ्कनका लागि आयोगले विभिन्न १७ सूचक तयार गरेको थियो। जस अन्तर्गत समयमा नै बजेट पेश गरे – नगरेको, असार मसान्त भित्र बजेट पास गरे – नगरेको, राजस्व बाँडफाँड गरे – नगरेको,आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थ मन्त्रालयमा पुस मसान्त भित्र पेश गरे- नगरेको जस्ता विषयलाई सूचकमा समावेश गरिएको थियो ।

यस्तै आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे–नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्या, बालबालिकाको सङ्ख्यालगायत शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको हो ।

नगरपालिका प्रथम भएपछि प्रहार समाचार संग कुरागर्दै भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले समद्ध भिमाद बनाउने लक्ष्यका साथ आर्थिक क्षेत्रका भ्रष्टाचार रोक्दै आफ्नो खुट्टामा नगरपालिकालाई उभ्याउनु पर्छ भन्ने उद्देश्यले काम भएकाकारण यो सफलता मिलेको बताए । नगरप्रमुख सुबेदीले भने ‘नगरपालिकाले आन्तरिक श्रोत वृद्धि गर्दै समान तथा न्यायोचित वितरणमुखी काम तथा सुशासन र वित्तिय अनुसासन कायम गरिएकाले यो सम्भब भएको हो ‘।

आयोगले गरेको मूल्याङ्कनमा तनहुँको देवघाट गाउँपालिका सबैभन्दा कमजोर देखिएको छ । देवघाट गाउँपालिकाले १६ दशमलव ३७ प्रतिशत अङ्क प्राप्त गरेको छ । यसैगरी आँबुखैरेनी गाउँपालिकाले ३५ दशमलव ६८ प्रतिशत, व्यास नगरपालिकाले ३४ दशमलव ९९, ऋषिङ गाउँपालिकाले ३४ दशमलव शून्य एक , भानु नगरपालिकाले २९ दशमलव ६२, , म्याग्दे गाउँपालिकाले २४ दशमलव ५२, शुक्लागण्डकी नगरपालिकाले २९ दशमलव २६, घिरिङ गाउँपालिकाले १८ दशमलव ७६, बन्दीपुर गाउँपालिकाले २४ दशमलव ६८ अङ्क प्राप्त गरेका छन् ।

























