प्रहार समाचार । तनहुँ, चैत १३ । नेपालमा खाना पकाउने विद्युतीय चुलोको प्रयोग बढाउनका लागि महिला लक्षित सचेतना कार्यक्रम तनहुँको दमौलीमा आज सम्पन्न भएको छ।

ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल र नेपाल ऊर्जा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले खाना पकाउने परम्परागत प्रणालीको अन्त्य गर्दै नयाँ प्रणाली अन्तर्गत विद्युतीय चुलोको सकेसम्म बढी प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले भने ‘विद्युतीय चुलोबाट वन वातावरण तथा गृहणीको स्वास्थ्य समेत बलियो हुन्छ ‘ ।
कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले प्रविधिसँगै महिलाहरू पनि अगाडि बढ्नुपर्नेमा जोड दिइन्। l
कार्यक्रममा नेपाल ऊर्जा प्रतिष्ठानका प्रबन्ध निर्देशक डिल्ली घिमिरे , ऊर्जा र वातावरणका लागि महिला सञ्जालका अध्यक्ष कला लम्साल , प्राध्यापक अरविन्द थापा लगायतले महिलाहरू सचेत भएर अगाडि बढ्दै आधुनिकीकरणतर्फ लाग्नुपर्नेमा जोड दिए। खाना पकाउने एलपिजी ग्यास तथा दाउराको तुलनामा विद्युतीय चुलोबाट खान पकाउँदा समय र पैसाको समेत बचत हुने त्यस अवसरमा बताइएको थियो। ।

आयोजक संस्थाले १० देखि १२ जनालाई तनहुको दमौलीमा छिट्टै विद्युतीय चुलो मर्मत तालिम प्रदान गरिने वातावरणका लागि महिला सञ्जालका अध्यक्ष कला लम्सालले जानकारी दिइन् । संस्थाले व्यास नगरपालिकाका १४ वडा र दुई विद्यालय तथा शुक्ला गण्डकी नगरपालिकाका १२ वडा र दुई विद्यालयमा खाना पकाउने विद्युतीय चुलोको प्रयोग बढाउनका लागि महिला लक्षित सचेतना कार्यक्रम गरिसकेको बताइएको छ।

आज भएको उक्त सचेतना कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र महिला सहकारीका प्रतिनिधिहरू गरी २४ जनाको सहभागिता रहेको कार्यक्रमका प्रोजेक्ट म्यानेजर रोजिना शर्माले बताइन्। त्यस अवसरमा ग्याँसबाट र विद्युतीय चुलोबाट पकाइएका खानाका परिकारहरूमा के अन्तर आउँछ भनेर परीक्षण स्वरूप खाना बनाएर सहभागीहरुलाई परिक्षण गरिएको थियो ।


























