प्रहार समाचार । इटहरी, चैत १२ । मानिसहरुमा त विभिन्न प्रतियोगिताहरु हुने गरेको पाइन्छ । तर पशुपंक्षिहरुमा प्रतियोगिता हुने गरेको भने बिरलै सुन्न र देख्न पाईन्छ । सुनसरीको इटहरीमा उपमहानगरपालिक भने भैसी प्रतियोगिता भएको छ। भैँसीपालक किसानलाई प्रोत्साहन गर्नका लागि भैँसी प्रतियोगिता आयोजना गरिएको हो ।

बर्सेनि भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित गर्ने उदेश्यका साथ इटहरीमा भैँसी प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका सचिव राजन धमलाले जानकारी दिए। इटहरीमा रहेको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनमा सुनसरी र मोरङमा भैँसीपालन गर्दै आएका किसानबीच प्रतिस्पर्धा गरिएको हो । दुग्ध उत्पादक सहकारी संस्थाको ४२ औँ स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव धमलाले बताए।प्रतियोगितामा सुन्दरहरैँचाका ३० किसानका ५० भैँसी प्रतियोगितामा सहभागी गरिएका थिए ।

प्रतियोगितामा इटहरी उपमहानगरपालिका–३ का चन्द्रबहादुर बस्नेतको भैँसी प्रथम , सुन्दरहरैँचा–५ की पदमकुमारी राईको भैँसी दोस्रो तथा सोही स्थानका भोजराज गौतमको भैँसी तेस्रो र त्यसैगरी सोहि स्थान कै तीर्थकुमारी लिम्बूको भैँसी सान्त्वना पुरस्कार पाउन भए ।
भैँसी प्रतियोगिताका निर्णायकमा भेटेरीनरी अस्पताल सुनसरीका प्रमुख कुमारसिंह खत्री, इटहरी उपमहानगरपालिकाका पशुपक्षी शाखाका प्रमुख डा दुर्गाबहादुर श्रेष्ठ र इलारी संस्थाका कार्यक्रम संयोजक एकमणि नेपाल रहेका थिए। भैँसीको स्वास्थ्य, रूप, जिउ डाल, जात, दूधको उत्पादनलगायत गुणका आधारमा तीन सदस्य निर्णायक टोलीले विजेता भैँसी घोषणा गरेका थिए। प्रतियोगिताका विजेता भैँसी धनी किसानलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको संस्थाका अध्यक्ष खेम काफ्लेले जानकारी दिए ।

























