प्रहार समाचार । तनहुँ, चैत १० । तनहुँको व्यास नगरपालिका भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस कास्की पोखरा बिच संस्थागत सहकार्यमा सम्झौतमा हस्ताक्षर भएको छ ।

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन मान्यता प्राप्त गरेका यी दुईटै क्याम्पस तनहुँ र कास्की जिल्लाका उच्च शिक्षाको लोकप्रिय गन्तव्य मानिन्छन्। सम्झौतामा दुई क्याम्पसका बीचमा प्राध्यापकहरूको अनुभवको आदानप्रदान, शोध तथा अनुसन्धानमा संयुक्त लगानीमा अनुसन्धान, शैक्षिक र सांस्कृतिक तथा व्यावहारिक ज्ञान आदान प्रदानका लागि विद्यार्थीहरूलाई अवसर सिर्जना गर्ने,दुवै क्याम्पसका ग्राजुएट विद्यार्थीहरूले क्याम्पसमा विद्यार्थी भर्ना हुन चाहेमा सहुलियत र छात्रवृत्ति प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख छ।

सम्झौतामा आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हड्खले र गुप्तेश्वर महादेव क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख धर्मराज बरालले हिंजो हस्ताक्षर गरेका हुन्।
उक्त अवसरमा गुप्तेश्वर महादेव क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदी ,सोध तथा अनुसन्धान समितिका अध्यक्ष मोहन भण्डारी, जिएमएमसिका आन्तरिक गुणस्तर सुनिश्चिता मूल्याङ्कन समितिका संयोजक राजकुमार सुवेदी, बाह्य सम्बन्ध र विस्तार समितिका संयोजक दुर्गानाथ पौडेल, बिएचएम कोर्डिनेटर जितेन्द्र थापा, एविसिका होटल व्यवस्थापनका संयोजक अरविन थापा र सहायक प्राध्यापक धनबहादुर थापा समेतको उपस्थिति रहेको थियो।
























