प्रहार समाचार । काठमाडौ, चैत ९ । सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्।
सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको टोलीले पूर्वसभामुख महराको आज बयान सकिएपछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।
उनलाई छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।महरालाई गत सोमवार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको थियो । महरालाई जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान शुरू गरिएको थियो ।


सुनको अवैध तस्करी एवं नियन्त्रण सम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो ।
























