प्रहार समाचार । काठमाडौँ , चैत ८ । राष्ट्रपति रामचन्द्र पौडेलले साहित्यकार परशु प्रधानले नेपाली साहित्यको उत्थान र विकासमा पुऱ्याएको योगदान नेपाल र नेपाली साहित्य क्षेत्रले सधैँ सम्झिरहने बताएका छन्। साहित्यकार प्रधानको निधनमा परिवारजनलाई विहिबार एक समवेदना सन्देश पठाउँदै राष्ट्रपति पौडेलले मूर्धन्य साहित्यकार प्रधानको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको उल्लेख गरेका छन्।
“कथालेखनमा केन्द्रीत रहेपनि साहित्यका विभिन्न विधामा कलम चलाएका सिद्वहस्त आख्यानकार प्रधानले कथा, बालकथा, निबन्ध, समीक्षा, समालोचनाबाट नेपाली साहित्यको उत्थान र विकासमा पुऱ्याएको योगदान नेपाली साहित्य क्षेत्रले सधैँ सम्झिरहनेछ”, समवेदना सन्देशमा उल्लेख छ ।

विभिन्न भाषामा पनि आफ्ना रचना प्रकाशित गरेका प्रधानको निधनबाट नेपाली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको आफूले महशुस गरेको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्। राष्ट्रपति पौडेलले स्वर्गीय प्रधानको आत्माको चीर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। समवेदना सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रधानका परिवारजनलाई निवासमा पुगेर हस्तान्तरण गरेका थिए।
























