प्रहार समाचार । काठमाडौँ, चेत ८ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले गर्दा हिंजो देशको मध्यदेखि पूर्वसम्म वर्षा हुनुका साथै पश्चिम क्षेत्रमा पनि बदली र छिटपुट वर्षा भयो ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ।
हिंजो काठमाडौंमा दिनभर नै वर्षा भएको छ भने पोखरामा छिटफूट पानी पऱ्यो। आगामी तीन दिनसम्म उल्लेख्य रूपमा मौसममा सुधार हुने देखिँदैन तर हिजोको जस्तो पानी नपर्ने मौसम विभागले जनाएको छ । मौसमविद् सञ्जिव अधिकारीले बिहीबार कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको निर्यामित बुलेटिनमा उल्लेख छ।
























