प्रहार समाचार। महोत्तरी, चैत ३ शनिवार । राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले आज मटिहानीमा शहिद केशव कोइरालाको प्रतिमाको अनावरण गरेपछि मटिहानी नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै सो धारणा राखेका हुन् ।”हामीले जनताका अधिकार स्थापित गरेको संविधान पाएका छौँ । यसअनुसार दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान गर्नुछ । यही नै हो लोकतन्त्र, यही नै हो गणतन्त्र, यही नै हो समानता”, राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलले नागरिक अधिकार स्थापनाका लागि उनीहरुको मौलिक हक, अधिकारका लागि संघर्षका गर्ने क्रान्तिको करिडोर हो, मटिहानीदेखि सिन्धुली, ओखलढुंगाहुँदै सगरमाथाको भूमि भएको बताउदै मधेसलाई प्रजातन्त्रको भूमिका रुपमा हामीले सम्मान गरिरहेको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको चर्चा गर्दै संविधानमा अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य भएको स्पष्ट पारे ।
राष्ट्रपति पौडेलले राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ हामीले प्राप्त गरेका छौं तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ भन्नुभयो । “गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँकी बताए ।
नेपाली जनताको ठूलो संघर्ष, बलिदान र त्यागबाट आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथा अहिले हामीले लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेका छौं भन्दै राष्ट्रपति पौडेलले वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेकोमात्र होइन वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको बताए ।
यस अघि आज बिहान राष्ट्रपति पौडेलले जलेश्वरस्थित जलेश्वर महादेव मन्दिरको दर्शन एवम पूजा अर्चन गर्नुका साथै पिपरमा रहेको लोकतान्त्रिक योद्धा स्वर्गीय रामनारायण मिश्रको शालिकमा माल्यार्पण समेत गरेका थिए ।
























