भारतीय दिग्गज गायक पंकज उदासको निधन भएको छ। सोमबार ७२ वर्षको उमेरमा उनको निधन भएको उनका छोरा नायबले सामाजिक सञ्जालमार्फत दिएका हुन्। पंकज लामो समयदेखि बिरामी थिए।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे उनको निधन भएको हो। उनको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो। उनी आफ्नो तीन भाइमध्ये कान्छा थिए। उनलाई सानै उमेरदेखि गायनमा रूचि थियो।

उनले सन् १९८० मा ‘आहत’ नामबाट पहिलो गजल एल्बम निकालेका थिए। जसलाई दर्शकश्रोताले निकै रूचाएका थिए। उनले सन् २००६ मा पद्मश्री पुरस्कार प्राप्त गरेका थिए । स्वरमा जादु भएका पंकजको निधनले भारतीय गायन क्षेत्रमा अतुलनीय क्षति पुगेको बताइन्छ।
























