प्रहार समाचार । काठमाडौँ, फागुन १० विहिवार । प्राप्ताङ्कका आधारमा पहिलो नम्बरमा सिकारिमा परेका चित्रबहादुर बुढाथोकी (७८ नम्बर) लाई पाखा लगाएर दोस्रोमा केशरजंग बराल (७६ नम्बर) लाई प्रधानमन्त्री तथा त्रिविका कुलपति कार्यालयले बिहीबार बराललाई त्रिविको उपकुलपतिमा नियुक्त गरेको छ।
विश्वविद्यालयको २० औँ उपकुलपतिमा नियुक्त प्राडा केशरजंग बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन्। पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए । बराल व्यवस्थापन संकायका प्राध्यापक हुन् । उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधी गरेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहेका बरालले काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्नेछन्।

शिक्षामन्त्री अशोककुमार राई अध्यक्ष रहेको छनोट समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।
कुलपति एवं प्रधानमन्त्री दाहालले योग्यताक्रममा दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाएका हुन्। पहिलो र दोस्रो नम्बरमा रहेका बुढाथोकी र बराल दुबै माओवादी केन्द्रनिकट थिए।























