प्रहार समाचार I तनहुँ, मंसिर १४ बिहिबार ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सांसद डा. स्वर्णीम वाग्ले चयन भएका छन् । महोत्तरीमा भएको केन्द्रीय समिति र संसदीय बैठकले डा. वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो ।
यससँगै रास्वपाको उपसभापति दुई जना भएका छन् । यसअघि उपसभापति रहेका डीपी अर्याल सोही पदमा कायमै छन् ।
यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएको पार्टीका प्रवक्तासमेत रहेका डा मुकुल ढकालले जानकारी दिए । यसैगरी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । त्यस्तै कोषाध्यक्ष लिमा अधिकारी र सह–कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई चयन गरिएको छ । यस्तै पार्टीका सहप्रवक्तामा मनीष झा, प्रतिभा रावल, रमेश प्रसाईं चुनिएका छन् ।
महामन्त्रीमा मुकुल ढकाल र प्रतिनिधिसभाको प्रमुख सचेतकमा सन्तोष परियार निरन्तर नै रहनेछन् । यसैगरी अनिलकेशरी शाह, राजन गौतम, डा नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।
बुधवारको निर्णयसँगै रास्वपाका केन्द्रीय सदस्य नरहेका सांसद स्वतः केन्द्रीय सदस्य भएका छन् ।
रास्वपाका सबै २१ सांसद केन्द्रीय सदस्य बनेका हुन् । पार्टीको सभापतिमा संस्थापक रवि लामिछाने नै कायमै रहेका छन् ।
























