प्रहार समाचार । काठमाडौँ, मंसिर १३ बुधबार ।
युद्धविरामको ५ औं दिनमा, हमासले १० इजरायली र दुई थाई बन्धकहरूलाई रिहा गरेको छ। इजरायलले पनि ३० प्यालेस्टिनी बन्दीहरुलाई रिहा गरेको छ। यो रिहाइमा पनि हमासले बन्धक बनाएका नेपाली विपिन जोशी भने अझै परेका छैनन्।

हमासले युद्धविराम सुरु भएको पाँच दिनमा ८१ जना बन्धकहरूलाई रिहा गरेको छ। योसँगै इजरायलले आफ्नो जेलबाट १५० प्यालेस्टिनीलाई रिहा गरिसकेको छ। टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले अक्टोबर ७ मा हमासले गाजामा तीन सैनिकलाई बन्धक बनाएको जनाएको छ। यी तीन सैनिकको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार यी सैनिकको मृत्यु अक्टोबर ७ मा भएको सेनाले जनाएको छ। उनीहरुको शव हमाससँग छ। युद्धमा अहिलेसम्म इजरायली ३९५ सैनिक मारिएका छन्।
इजरायल डिफेन्स फोर्सका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल हर्जी हालेवीले आफूहरु फेरि आक्रमण गर्न तयार भएको जनाएका छन्। युद्धविरामको समयमा हामीले हाम्रा सैनिकहरूलाई युद्धका लागि तयार गरेका छौं। हामीले अक्टोबर ७ मा केही गल्ती गर्यौं। गुप्तचर निकाय असफल भयो तर अब यस्तो हुने छैन। हामीले नयाँ युद्ध योजना स्वीकृत गरेका छौं।






















