.
प्रहार समाचार । भारत, मंसिर ११ सोमबार ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको ‘भोकल फर लोकल’ अभियानलाई अगाडि बढाउँदै आइतबार नागरिकहरूलाई विदेशमा विवाह समारोह आयोजना नगर्न आग्रह गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मासिक रेडियो कुराकानी ‘मन की बात’को पछिल्लो संस्करणमा देशवासीलाई सम्बोधन गर्दै विवाहका लागि किनमेल गर्दा भारतमा बनेका मात्र उत्पादनलाई महत्व दिन आग्रह गरेका छन् ।उनले भने, ‘विवाहको मौसम पनि सुरु भइसकेको छ । केही व्यापारिक सङ्गठनहरूले अनुमान गरेअनुसार यो विवाहको मौसममा लगभग पाँच लाख करोड भारतीय रूपैयाँको व्यापार हुन्छ ।’स्वदेशमै विवाहको व्यवस्था गर्न सके गरिब जनताले केही न केही सेवा गर्ने अवसर पाउने उनको भनाइ थियो । ‘विवाहका लागि किनमेल गर्दा तपाईंहरू सबैले भारतमा बनेका उत्पादनलाई मात्र महत्व दिनुपर्छ,’ उनले भने ।
पछिल्लो समय केही केही परिवारले विदेश गएर विवाह गर्न नयाँ परिवेश सिर्जना गरिरहेका उल्लेख गर्दै उनले प्रश्न गरे, ‘के यो आवश्यक छ ? यदि हामीले भारतीय भूमि वा स्वदेशी जनको बीचमा विवाहको उत्सव मनायौं देशको पैसा देशमै रहनेछ । देशका मानिसहरूले तपाईंको विवाहमा कुनै न कुनै सेवा प्रदान गर्ने अवसर पाउनेछन् । के तपाईं ‘भोकल फर लोकल’ को यो अभियानको सकारात्मक प्रभाव अनुमान गर्न सक्नुहुन्छ ? हामीले आफ्नै देशमा किन यस्तो विवाह समारोह गर्दैनौं ?’
सन् २०२३ मा लगातार दोस्रो वर्ष दीपावलीको अवसरमा नगद भुक्तानीमार्फत केही सामान किन्ने प्रचलन क्रमशः घट्दै गएको प्रधानमन्त्री मोदीको भनाइ थियो । ‘यसको अर्थ, मानिसहरूले अहिले धेरै भन्दा धेरै डिजिटल भुक्तानी गरिरहेका छन्,’ उनले भने ।
























