प्रहार समाचार । तनहुँ, मंसिर १० आईतबार । रूम टु रिड अन्तरगत तनहुँ जिल्लामा सञ्चालित बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लाका १८ वटा विद्यालयमा रुम टु रिडको कार्यक्रम संचालित छन् ।

ती मध्ये व्यास नगरपालिकामा रहेका सत्यवती र निर्मल माध्यमिक विद्यालय , भ्याग्दे गाउँपालिकामा रहेका मिन माध्यमिक विद्यालय, थर्पु र राधा मावि जामुने तथा ऋषिङ गाउँपालिकाको बेलटारमा रहेको शुक्ला माध्यमिक विद्यालयमा शिक्षक निर्देशित मोडल जीवन उपयोगी कार्यक्रम सञ्चालित रहेका छन्।
शुक्ला माध्यमिक विद्यालयमा आइतबार भएको कार्यक्रममा कक्षा ६ मा अध्यायनरत १६ बालिकाहरुलाई प्रदान गरिएको कार्यक्रममा बोल्दै ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनु माया थापाले विद्यार्थीहरूको शैक्षिक सुधारमा यस्ता कार्यक्रमले विद्यार्थीहरुमा सिक्ने क्षमताको बृद्धि हुनुका साथै शिक्षण सिकाइ प्रक्रियामा समेत टेवा पुग्ने बताइन् ।

ऋषिङ १ का वडा अध्यक्ष कुश बहादुर थापाले समाजमा सचेतना फैलाउन तथा शिक्षामा सोचेजस्तो परिवर्तन ल्याउन कार्यक्रम उपयोगि हुने धारणा राखे । रुम टु रिडका बालिका शिक्षा कार्यक्रमका प्रमुख नित्यानन्द पाण्डेले पालिकाहरूको साथ र सहयोग भएमा अन्य विद्यालयमा पनि कार्यक्रमलाई विस्तार गर्न सकिने बताउँदै श्रोत र साधनको अभाव रहेको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्याप केशर थापा मगर , रुमटु रिडका कार्यक्रम व्यवस्थापक प्रमुख दिनेश पोखरेल, वरिष्ठ कार्यक्रम अधिकृत मञ्जु लोहोनी, पालिकाका शिक्षा शाखा प्रमुख सुवाश चन्द्र रानाभाट, भिमबहादुर थापा , प्रा सा मञ्जु पौडेल, शिक्षिक सुनिता बुढाथोकी, मञ्जु न्यौपाने,रुमटु रिडका सामाजिक परिचालक कलावती विमली लगायतले शिक्षामा परिवर्तनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए। कार्यक्रममा सहभागी बालिकाहरूले आफ्नो मनका भावनाका कुराहरू निर्धक्क सङ्ग राखेका थिए भने उनिहरुले सहभागीहरूसंग विभिन्न जिज्ञाशाहरू राखेका थिए।
























