प्रहार समाचार । काठमाडौं, जेठ ३० । मुलुकको राजधानी काठमाडौंको सिंहदरबार भित्र रहेका विभिन्न मन्त्रालयकाहरुमा सञ्चालीत क्यान्टिनहरुमा बालबालिकाहरूको हक अधिकार खोसेर बालश्रम शोषण भएको छ भन्ने सुन्दा झट्ट विश्वास नलाग्न सक्छ । तर सत्य नै भएपछि पत्याउन पर्ने नै हुन्छ ।
महानगरपालिका टोलीले बुधबार सिंहदरबारभित्र रहेका मन्त्रालयका क्यान्टिनबाट बालश्रम शोषण गरेको फेला पारेर पाँच जना बालबालिकाको उद्धार गरेको छ।

सञ्चार, ऊर्जा, जलस्रोत तथा सिंचाइ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको क्यान्टिनमा कार्यरत पाँच जना बालबालिकालाई उद्धार गरेको हो।
पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने भन्दै सार्वजनिक सूचना निकालेको थियो।तर पनि धेरै ठाउँमा बालश्रम गराइरहेको पाएपछि महानगरले बालबालिकको उद्धार गर्ने अभियान चलाएको छ।
यसअघि महानगरले विभिन्न ठाउँमा श्रममा लगाएका बालबालिकालाई उद्धार गरेको थियो। उद्धार गरेका बालबालिकालाई मानव सेवा आश्रममा राखिँदै आएको छ।
























