प्रहार समाचार । चैत, २२ । नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बिहीवार तत्कालीन पर्यटन मन्त्री शाहीसहित सचिव शंकरप्रसाद अधिकारी, वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकार लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । निगम सञ्चालक समितिका तत्कालीन सदस्य तथा भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगाना, सदस्यहरू सहसचिव बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन प्रकाश सिटौला, अच्युतराज पहाडीलगायत छन् ।
यस्तै, निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, गणेशबहादुर चन्द, निर्देशक कर्णबहादुर थापा, निमित्त निर्देशक क्याप्टेन सुवास रिजाल, निमित्त निर्देशक प्रभाषकुमार कर्माचार्य, नायब महाप्रबन्धक जनकराज कालाखेती छन् ।
मुद्दा दायर गरिएका अन्यमा निगमका तत्कालीन निर्देशक रामहरि शर्मा सेढाइँ, निमित्त निर्देशक रवीन्द्र कुमार शेरचन, कामु निर्देशक उपेन्द्र पौडेल, रविन्द्र श्रेष्ठ, निर्देशक श्रवण रिजाल, पारस पौडेल, उमेश पौडेल र बृहतमान तुलाधर छन् । विदेशी आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि बेलायत निवासी दीपक शर्माविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
१अर्ब ४७ करोड १० लाख ८५ हजार बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको विशेष अदालतका शाखा अधिकृत यज्ञराज रेग्मीले लोकान्तरलाई जानकारी दिए । कुल ३२ जनाविरुद्ध मुद्दा दायर गरिएकोमा आपूर्तिकर्तासहित ८ जना विदेशी नागरिक छन् । लोकान्तर बाट
























