प्रहार समाचार । चैत १५ । इलाम क्षेत्र नं २ को उप निर्वाचनका लागि जिविस महासंघका पूर्व महासचिव एवं रास्वपा तनहुँ २ का सभापति डा . शेषरमण न्यौपानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेद्वारीको चर्चा चल्न थालेको छ ।

सुरुमा रमेश प्रसाई, केहि समय मिलन लिम्बुको प्रचार गरिएपनि पछिल्लो समय डा. न्यौपानेको नाम अगाडि आएको हो। समाजशास्त्रमा विद्यावारिधि गरी प्रशासन र विकासका क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय अनुभव हासिल गरेका डा. न्यौपाने यस अगाडीको बारा २ को उपनिर्वाचनमा समेत उमेद्वारी हुन सक्ने अड्कल गरिएको थियो । त्यस बखत साना दलहरुलाई समेट्ने योजनाका कारण रमेश खरेललाई मैदानमा उतारिएको थियो ।

यसै बिच राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले हिंजो ६ जना आकांक्षीहरूको नाम सार्वजनिक गरेका छन्। जस अन्तर्गत तनहुँका डा शेष रमण न्यौपाने सहित गोकुलबहादुर राई ,जमुना शर्मा, महेन्द्रकुमार थापा ,मानबहादुर घिमिरे र मिलन लिम्बु रहेका छन् । पार्टीको आन्तरिक प्रारम्भिक निर्वाचनमा ६ जनाको नाम भए पनि जान्ने लाई छान्ने पार्टीको नीति अनुसार संघीय संसद्को प्रभावकारिताका लागि पनि डा. न्यौपाने छनौटमा पर्ने सम्भावना प्रवल बढ्दै गएको विश्लेषण हुन थालेको छ ।
























