प्रहार समाचार । कास्की, चैत ७ । गण्डकी प्रदेश सरकारले चालु आवमा २५ स्थानीय तहमा खेल मैदान निर्माणका लागि अनुदानको प्रक्रिया अगाडि बढाएको छ । अनुदानका लागि ४६ वटा स्थानीय तहबाट प्रस्ताव परेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खेल मैदान निर्माण र स्तरोन्नतिका लागि अनुदान पाउने स्थानीय तह केहीदिनमा छनोट हुने तथा यस वर्ष ‘एक स्थानीय तह, एक खेल मैदान’ कार्यक्रमका लागि ४ करोड बजेट रहेको तथा एउटा स्थानीय तहले १६ लाखका दरले अनुदान पाउने खेलकुद महाशाखा प्रमुख खिमबहादुर भुजेलले जानकारी दिए।
छनोटपछि लगत्तै योजना कार्यान्वयनमा जाने भुजेल ले बताए । प्रदेश सरकार स्थापना भएयता उक्त कार्यक्रमका लागि १७ करोड २२ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको मन्त्रालयको तत्थ्याङ्कमा उल्लेख छ । प्रदेशका ८५ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा ‘एक स्थानीय तह, एक खेल मैदान’ कार्यक्रम कार्यान्वयन भएको जनाइएको छ ।
यो वर्षदेखि निर्माण सुरु भएको खेल मैदानलाई पूर्णता दिने गरि बजेट खर्च गरिने तथा ‘एक स्थानीय तह, एक खेल मैदान’अन्तर्गत गत आवमा १५ वटा खेल मैदानको निर्माण तथा स्तरोन्नति गरिएको थियो । प्रदेश सरकारले घोषणा गरेका ठूला खेल पूर्वाधार आयोजना भने कार्यान्वयन हुन सकेका छैनन् । लाखौँ खर्चेर विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाइएका कतिपय खेल पूर्वाधार निर्माण सुरु नै नभई अलपत्र परेका छन् । अलपत्र पर्ने खेलमैदानमा तनहुँको चिन्तुटार खेल मैदान पनि रहेको छ। त्यहाँ गरिएको लगानी बालुवामा पानी हाले जस्तै हुन पुगेको स्थानियको भनाई रहेको छ।
























