प्रहार समाचार । तनहुँ, फागुन ९ बुधवार ।तनहुँको बन्दीपुरका पुराना पर्यटन व्यवसायी तथा समाजसेवी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई एक करोड पर्ने एक रोपनी जग्गा दान दिएका छन्।
उनले पालिकालाई साँस्कृतिक भवन निर्माणका लागि बन्दीपुर- ४ धारापानीमा पर्ने कित्ता नं २४१ अन्तरगतको कि नं ८७४ को एक रोपनी जम्मा क्षेत्रफल ५०८.७४ वर्ग मिटरको जग्गा जिल्ला मालपोत कार्यालयमा बुधवार बन्दीपुर गाउँपालिकाको नाममा राजिनामा पास गरि पालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापालाई जग्गा धनी रातो पुर्जा हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण पछि प्रहार समाचारसंग कुरागर्दै मालपोत कार्यालय तनहुँ दमौलीको प्राङ्गढमा पर्यटन व्यावसायी एवं बन्दीपुरका अग्रणी समाजसेवी श्रेष्ठले समग्र बन्दीपुरको विकासका लागि आफूले त्यस क्षेत्रको एक रोपनी जग्गा दान दिएको बताए । उनले भने” पालिकाका अध्यक्ष सुरेन्द्र जीले सांस्कृतिक केन्द्र बनाउन जग्गाको खोजी गर्दा नपाएको बताएपछि मलाई प्रस्ताव राख्नु भयो मैले सहर्ष स्विकार गरि खुशीसाथ समग्र बन्दीपुरको विकासमा टेवा पुग्ने सोचेल एक रोपनी जग्गा दिएको हुँ “

पालिकाका अध्यक्ष मनकारी सन्तकुमार श्रेष्ठले अहिलेको चलनचल्तीको मूल्य अनुरुप रु.एक करोड मूल्य बराबराको जग्गा प्राप्त भएको ,जग्गा प्राप्तसंगै आर्कषण साँस्कृतिक केन्द्र निर्माण गरेर बन्दीपुरको पर्यटन क्षेत्रलाई अझ उचाईमा पुऱ्याउन सहयोग मिलेको र अब गाउँपालिका सांस्कृतिक केन्द्र बनाउने तर्क लाग्ने बताए । अध्यक्ष थापाले जग्गा दाता श्रेष्ठलाई पालिकाको तर्कबाट धन्यवाद समेत प्रकट गरे । बन्दीपुरको मुटु मानिने र पायक पर्ने स्थानमा बहुमूल्य जग्गा उपलव्ध गराएर जग्गादाता श्रेष्ठले ठुलो योगदान गर्नुभएको उनले बताए ।

भवनको पहिलो तलामा तीन सय जना क्षमताको सभाहल निर्माण गर्ने योजना बनाएका छौ,उनले भने,‘भवनको दोस्रो तलामा विभिन्न जातजातिका कलासंस्कृति झल्किने संग्रहालय निर्माण गरेर राखिनेछ ।’ बन्दीपुरमा घुम्न आउने पर्यटकलाई कौरा,लाखे,सोरठी,घाटु नाच लगायतका कलासंस्कृति प्रस्तुत गरेर मनोरञ्जन प्रदान गर्ने लक्ष्य रहेको छ ।

गाउँपालिकाभित्रका सबै जातजातिको कलासंस्कृतिको संरक्षण र प्रर्बद्धनमा सहयोग पुग्ने उद्वेश्य अनुरुप आफुले खुशी मनले जग्गादान गरेको जग्गादाता श्रेष्ठले जानकारी दिए । गत बर्ष गाउँपालिका कार्यालयमा साँस्कृतिक भवन निर्माणका लागि ७० लाख बिनियोजन भएकोमा जग्गा नहुँदा रकम फ्रिज भएको बताउँदै यस पटक पचास लाख विनियोजन गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमालले बताए ।
पहाडकी रानी बन्दीपुरमा सबै जातजाति, संस्कृति , रितिरिवाज र परम्पराको संग्राहलयकै रूपमा सांस्कृतिक केन्द्रलाई विकास गर्दै लैजाने पालिकाले जनाएको छ।
























