प्रहार समाचार । तनहुँ, मंसिर ९ शनिवार ।
खुलेका धौलागिरी, माछापुच्छ्रे,अन्नपूर्ण, मनास्लु , लमजुङ हिमाल आँखै अगाडि देखिने । दमौली आसपासको सेरोफेरो कुहिरोले ढाकिएर समुद्रको छालजस्तै देखिने मनोरम दृश्य, त्यहिमाथि फाल हालौं जस्तो ।अनि भर्खरै उदयको कलिलो रातो सूर्यको दृष्य आँखै अगाडी । कसलाई मन पर्दैन र हिमाल,सूर्योदय र समुन्द्र जस्तो कुहिरोको त्रीवेणी स्थल मानुङकोट ।

तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नम्बर ५ मा पर्ने पर्यटकीय गन्तव्य स्थल मानुङकोटमा यतिबेला आन्तरिक पर्यटकहरूको चहलपहल ह्वात्तै बढेको छ । कार्तिकको अन्तिम सातादेखि मंसिर लाग्दा नलाग्दैदेखि नै यस क्षेत्रमा आन्तीक पर्यटकहरुको चाप बढेको मानुङका होटल व्यवसायी जीवन श्रेष्ठले बताए
समुद्री सतहदेखि झण्डै ११ सय मिटरको उचाइमा रहेको यस स्थानमा बिहान चार बजेबाट नै त्यहाँ पुग्ने पर्यटकहरुकाे ताँती बाटोमा लाग्ने गर्दछ। सूर्यदय ,खुलेका हिमाल र कुहिरोको समुन्द्र हेर्न बिहानदेखि पर्यटकहरु त्यस क्षेत्रमा पुग्ने गरेको व्यासनगरपालिका वडा नम्बर ५ का पूर्व वडाध्यक्षमा मोहनकुमार श्रेष्ठले बताउँछन । ‘अझै पनि त्यहाँ पुग्नका लागि पक्की बाटो बनाउने कार्य भएको छैन, खानेपानीको चरम अभाव छ, त्यहाँ पुग्ने पर्यटकहरुकालागि सुविधासम्पन्न होटल तथा खाजाघरहरुको अभाव छ यो विडम्बना हो।’ श्रेष्ठले भने।

दमौलीबाट आधाघण्टाको सवारीसाधनको यात्रामा पुग्न सकिने मानुङकोटमा पुग्ने सडक कालोपत्रे गर्न बाँकी हुँदा अप्ठ्यारो सडक तथा आँखै नदेख्ने गरि लाग्ने बाक्लो ढुसी तथा कुहिरोले गर्दा रातिको समयमा सवारी साधनहरु दुर्घटना हुने सम्भाबना समेत बढि रहेकोले सडकमा सडक बत्ति, ट्राफिक संकेतहरू व्यवस्था गर्नुपर्ने पोखराबाट मानुङकोट आएका आशिक गुरुङ बताउँछन् ।
मानुङकोट पुग्न अलैचेबाट बाट ३४ सय मिटर कालोपत्रे तथा ८० मिटर सडक आरसिसि दलान गरिएको छ। बाँकी रहेको सडक खण्ड कालोपत्रे गर्नुपर्ने मानुङका होटल व्यवसायी जीवन श्रेष्ठको माग छ ।

आफू यस स्थानमा पहिलो पटक आएको समुन्द्र जस्तै देखिने कुहिरो हिमाल र सूर्योदयको दृश्य साच्चै नै लोभलाग्दो लागेको नवलपुर बाट शनिवार मानुङाकोट आएकी आन्तरिक पर्यटक नमुना घिमिरेले सुनाइन्। विशेषगरि यस क्षेत्रमा शुक्रबार र शनिबार छिमेकी जिल्लाहरू कास्की, चितवन, गोरखा, लमजुङ तथा अन्य क्षेत्रहरूबाट समेत पर्यटकहरुको भीड लाग्ने गरेको स्थानीय होटल व्यवसायीहरु बताउँछन् ।


















