हेडलाईनसमाचारसुदुर पश्चिम

भूकम्पबाट प्रभावित क्षेत्रमा नेपाली कांग्रेसले एक सय वटा अस्थायी  टहरा निर्माण

प्रहार समाचार | जाजरकोट, मंसिर ८ शुक्रबार ।जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा नेपाली कांग्रेसले एक सय वटा अस्थायी घर टहरा निर्माण गरेको छ । नलगाड नगरपालिका–५ का रघुनाथ, ऐरारी, पोखरा र मुलिमा कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद प्रदीप पौडेलको नेतृत्वमा खटिएको करिब डेढ सय जना नेता कार्यकता र स्वयम्सेवकहरूको टोलीले एक सय वटा अस्थायी घर टहरा बनाएका हो ।

जाजरकोट र रूकुम पश्चिममा कांग्रेसले मात्रै एक हजार अस्थायी घर टहरा बनाउने घोषणा गरेको छ । त्यहीअनुसार पहिलो चरणमा नेता पौडेलको नेतृत्वमा पाँच दिनदेखि खटिएको टोलीले शुक्रबारसम्म एक सय वटा अस्थायी घर टहरा निर्माण गरेको हो । टोलीमा करिब ३५ जना दक्ष प्राविधिक जनशक्ति छन् भने बाँकी नेताहरूले सहयोगीको रुपमा काम गरेका छन् ।

नेता पौडेल आफैँ पाँच दिनसम्म प्रभावित क्षेत्रमा स्थानीयवासीहरूका अस्थायी घर टहरा बनाउन खटिएका छन् । १७ कात्तिकको भूकम्पपछि कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय अनुगमन तथा सहजीकरण समिति गठन गरेको थियो । थापा र शर्माले प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि तत्काल उद्धार र राहतसँगै अस्थायी आवास र पुनर्निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यही बेला उनीहरूले कांग्रेसका तर्फबाट स्वयम्सेवकहरू परिचालन गरी एक हजार अस्थायी घर टहरा बनाउने घोषणा गरेका थिए । त्यही घोषणाबमोजिम कांग्रेसले गत मंगलबारदेखि प्रभावित क्षेत्रमा दक्ष जनशक्तिसहित अस्थायी घर टहरा बनाउन कांग्रेसका नेता कार्यकर्ता र स्वयम्सेवकहरू खटिएका हुन् 

टोलीमा संघीय सांसद पौडेलसहित गण्डकी प्रदेशका सांसद डिल्लीराज सुवेदी, पालुङटार नगरपालिकाका पूर्वमेयर ईन्जिनियर दिपकबाबु कँडेल, कांग्रेस जाजरकोटका नेताहरू महेन्द्र शाह, पुष्प बस्नेत, छवि पन्त र पूर्ण ओलीलगायत तरूण दल र नेपाल विद्यार्थी संघका नेताहरू खटिएका छन् ।

अस्थायी घर निर्माणमा खटिएका महासमिति सदस्य सुशील भट्टले शुक्रबारसम्म आफूहरूले एक सय वटा अस्थायी घर टहरा बनाएको बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button