विचारसबै प्रदेश

एसईई परीक्षा, सुझाव र मार्गदर्शनहरु

एसईई २०८१ सुरु हुन केही दिन मात्र बाँकी छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालन हुने उक्त परीक्षा २०८१ चैत्र ७ गते बिहीवार बिहान ८:०० बजेदेखि सुरु भै २०८१ चैत्र १९ गते मङ्गलवार सम्पन्न हुने छ । लामो समय शिक्षा क्षेत्रमा काम गरेर हाल नेपाल सरकारको सेवा निवृत्त कर्मचारी विष्णुनारायण श्रेष्ठले एस ई ई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरु र सम्बन्धित अभिभावकहरुलाई  महत्वपूर्ण सुझाव र मार्गदर्शनहरु यसरी दिएका  छन् :


१) प्यारा विद्यार्थी भाइबहिनीहरु !

परीक्षा हलमा प्रवेश गर्नुभन्दा अगाडि र परीक्षा हलमा प्रवेश गरिसकेपछि ध्यान दिनुपर्ने कुराहरु:

परीक्षा अघि :

– प्रश्नपत्रको ढाँचाको बारेमा जानकारी राख्नुहोस् ।
– सम्बन्धित विषय शिक्षक (सम्बन्धित विषयको विशिष्टीकरण तालिका) को सहयोगमा कुन विषयक्षेत्रबाट कस्ता – कस्ता प्रश्न ( ज्ञान, बोध, प्रयोग र उच्चदक्षता ) कति कति अंकको सोधिन्छ, सोको जानकारी लिनुहोस् ।
 – समय तालिकाका आधारमा नियमित अध्ययन गर्नुहोस्।
– पहिलेका प्रश्नपत्रहरू अभ्यास गर्नुहोस्।
– समय व्यवस्थापनको अभ्यास गर्नुहोस्।
– नियमित रूपमा पुनरावलोकन गर्नुहोस्।
– सम्बन्धित विषय शिक्षकको नियमित सम्पर्कमा रही आवश्यक सल्लाह र सहयोग लिनुहोस् ।

परीक्षा सामग्री :

– आवश्यक सामग्रीहरू (कलम, पेन्सिल, प्रवेशपत्र आदि) तयारी अवस्थामा राख्नुहोस्।
– परीक्षा केन्द्रको स्थान र समय पहिले नै थाहा पाउनुहोस्।

स्वास्थ्य :

– पर्याप्त निद्रा लिनुहोस्।
– स्वस्थ र सन्तुलित खाना खानुहोस्।
– मानसिक तनाव कम गर्न हल्का व्यायम,ध्यान वा योगा गर्नुहोस् ।

परीक्षा हलमा :

-परीक्षाको पहिलो दिन परीक्षा केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि पुग्नुहोस् ।
– केन्द्राध्यक्ष लगायत निरीक्षकको निर्देशन ध्यानपूर्वक सुन्नुहोस् र  त्यसको पालना गर्नुहोस्।
– उत्तरपुस्तिकामा आफ्नो सिम्बोल नं., विषय, मिति, परीक्षा केन्द्र आदि प्रष्ट रुपमा बुझिने गरेर  लेख्नुहोस् ।
– प्रश्नपत्र ध्यानपूर्वक पढ्नुहोस्।

उत्तर लेखन :

– आफूलाई सजिलो लागेको प्रश्नबाट उत्तर लेख्न थाल्नुहोस् ।
– उत्तर स्पष्ट र सफा रूपमा लेख्नुहोस्।
 – समय व्यवस्थापन गरेर सबै प्रश्नहरूको उत्तर दिनुहोस्।
– कुनै प्रश्नमा अड्किएमा वा गाह्रो लागेमा अर्को प्रश्नमा जानुहोस् र पछि फर्कनुहोस्।
– आत्मविश्वास र सकारात्मक सोंच राख्नुहोस् र शान्त रहनुहोस्।
– नकारात्मक विचारहरूबाट टाढा रहनुहोस्।
– परीक्षा हलमा शान्त भएर बस्नुहोस्।
– अरु परीक्षार्थीलाई बाधा नदिनुहोस्।
– परीक्षाको मर्यादा कायम गर्नुहोस् ।
– आफ्नो क्षमतामा विश्वास गर्नुहोस्।
 – धैर्य रहनुहोस् ,पटक्कै विचलित नहुनुहोस्।
 – समय बाँकी छँदै परीक्षा सकिएमा एकपटक सबै प्रश्नका उत्तरहरु सरसर्ती पुनरावलोकन गर्नुहोस्।
– उत्तरपुस्तिका थप्नु भएको छ भने त्यसलाई मूल उत्तरपुस्तिकामा नछुट्टिने गरी स्टिच भएको छ भन्ने कुराको  सुनिश्चित गर्नुहोस् आदि… ।

नोट : शिक्षकले सॅंधै तपाईको समुज्ज्वल भविष्यको खातिर आवश्यक सुझाव, सल्लाह र मार्गदर्शन गर्नुहुन्छ भन्ने कुराको हेक्का राख्नुहोस् ।

तपाइलाई परीक्षामा सफलता मिलोस्, शुभकामना !

२) आदरणीय अभिभावकज्यूहरु !
———————————————————–

छोराछोरीको शैक्षिक उन्नयन र समुचित प्रगतिमा अभिभावकको भूमिका सर्वोपरि रहन्छ । त्यसमाथि परीक्षाको समयमा त झन् अभिभावकको सहयोग र समर्थनले छोराछोरीको मनोबल बढाउन र सफलता प्राप्त गर्न ठूलो मद्दत गर्दछ।

अभिभावकको केही महत्वपूर्ण भूमिका :

– परीक्षाको समयमा परीक्षार्थीहरूलाई मानसिक तनाव हुन सक्छ। अभिभावकहरूले उनीहरूलाई शान्त र सकारात्मक रहन मद्दत गर्नुपर्छ।
– उनीहरूको क्षमतामा विश्वास देखाउनुहोस् र उनीहरूलाई प्रेरित गर्नुहोस्।
– परीक्षाको नतिजा भन्दा पनि उनीहरूको प्रयास महत्त्वपूर्ण हो भन्ने कुरा बुझाउनुहोस्।
– उनीहरूलाई अध्ययनको लागि शान्त र अनुकूल वातावरण प्रदान गर्नुहोस्।
– आवश्यक सामग्रीहरू उपलब्ध गराउनुहोस्।
– उनीहरूको अध्ययन तालिका बनाउन र त्यसलाई पालना गर्न मद्दत गर्नुहोस्।
– बेलाबेलामा सम्बन्धित शिक्षकको सल्लाह लिनुहोस्।
– उनीहरूलाई पर्याप्त आराम र निद्रा लिन प्रोत्साहित गर्नुहोस्।
– सन्तुलित आहार दिनुहोस्।
– परीक्षाको समयमा उनीहरूको स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्।
– उनीहरूलाई आफ्नो भावनाहरू व्यक्त गर्न प्रोत्साहित गर्नुहोस्।
– उनीहरूको कुरा ध्यान दिएर सुन्नुहोस् र उनीहरूलाई सहानुभूति देखाउनुहोस्।
– पुरानो प्रश्नपत्रहरू हल गर्न र अभ्यास गर्न प्रोत्साहित गर्नुहोस्।
– परीक्षाको समयमा आवश्यक सामग्रीहरू तयार राख्न मद्दत गर्नुहोस्।

नतिजापछि सहयोग
——————————————————-
– परीक्षाको नतिजा जे भए पनि उनीहरूलाई समर्थन गर्नुहोस्। कहिल्यै पनि उनीहरुको आत्मसम्मानमा चोट पुग्ने काम नगर्नुहोस् ।
– उनीहरूको प्रयासको प्रशंसा गर्नुहोस् र उनीहरूलाई हौसला दिनुहोस्।
– यदि नतिजा सोचेजस्तो भएन भने, उनीहरूलाई निराश नहुन र भविष्यको लागि योजना बनाउन (शिक्षकको सहयोग समेतमा)  मद्दत गर्नुहोस्। छोराछोरीलाई  माया, समर्थन र प्रोत्साहन दिएर सकारात्मक सोंचको विकास गराउनुहोस् आदि…।
हजुरहरुका छोराछोरीलाई परीक्षामा सफलता प्राप्त होस् ! हार्दिक शुभकामना !!

  • (हामीले श्रेष्ठको यो लेख उहाँको फेसबुक पेजबाट सम्पादन गरि प्रकाशित गरेका हौं- सम्पादक )

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button