आँबुखैरेनी गाउँपालिकाहेडलाईनसमाचारगण्डकी

तनहुँको छिम्केश्वरीमा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल छिम्केश्वी माईको  दर्शन गर्न आउने भक्तालुहरुको  भिड

• शंकरराज नहर्की । तनहुँ, २९ फागुन २०८१ बिहीवार । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं ५ मा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल छिम्केश्वरी माई मन्दिरको दर्शन गर्न आउने भक्तालुहरुको दिन प्रतिदिन भिड लाग्न थालेको छ।

तस्बिरहरु : प्रहार अनलाईन मिडिया

आज फागु पूर्णिमाको दिन मात्रै उक्त मन्दिरमा हजारौंको संङ्ख्यामा भक्तजनहरु मन्दिरको दर्शन गर्न पुगेका थिए ।  सबै भन्दा अग्लो चुचुरोको रुपमा रहेको यो मन्दिर समुन्द्र सतहबाट २ हजार १ सय ३४ मिटरको उचाईमा रहेको छ। १७५३ साल देखिनै मन्दिरको अस्तित्व रहेको यस मन्दिर शाहवंशिय राजाहरुसङ्ग समेत पूजा अर्चनामा जोडिएको इतिहास छ। यस्तो मन्दिरको हालै प्यागोडा शैलिको तामाको पाताले छाएर गजुर राखेर मन्दिरको जिर्णोद्दारगरि सम्पन्न भएपछि भक्तजनहरुको भिड बढ्न थालेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्ण मान तमाङ बताउँछन्। खासगरि फागुपूर्णिमा तथा नयाँ वर्षको दिनमा यस मन्दिरमा ठूलो भिड लाग्ने गरेको उनले बताए । ‘बार्षिक एक लाखको हाराहारीमा धार्मिक पर्यटकहरु आउँछन् ।’- अध्यक्ष तमाङले भने ।

कलात्मक सुन्दर प्यागोडा शैलिको यस छिम्केश्वरी मन्दिरमा पछिल्लो समय तनहुँ जिल्लाका अतिरिक्त गोरखा, चितवन, लमजुङ, कास्की , नवलपुर लगायत जिल्लाका भक्तजनहरु आउने गरेको मन्दिरका पूजारी पदम बहादुर गुरुङले बताए । यस मन्दिरमा गुरुङ जातीका पूजारीहरु रहेका छन्। हाल उक्त मन्दिरमा पदम बहादुर सहित डिल बहादुर गुरुङ र आइतसिङ गुरुङ गरि तीन जना पूजारीहरु रहेका छन्।

यसैगरि छिम्केश्वी मन्दिको दक्षिण पट्टी झण्डै ५ सय मिटरको दुरीमा  बुढीदेवी माईको छाना बिहिन मन्दिर पनि उत्तिकै चर्चित रहेको छ । २ हजार १ सय ६५ मिटर उचाइमा रहेको यो मन्दिरको छाना विहिन रहेको छ। यी दुई शक्ती पिठमा भाकल गरेर पूजा अर्चना , धुप धँयर गरे मनोकांक्षा पूरा हुने भएकाले भक्तजनहरु आउने क्रम दिन प्रतिदिन बढ्दै जान थालेको आँबुखैरेनी गाउँ पालिका वडा नं १ का वडा अध्यक्ष एवं पालिकाका प्रवक्ता समेत रहेका प्रेम बहादुर गुरुङले बताए ।

गुरुङ भन्छन् -‘ सुरुमा सानो मन्दिरलाई पालिकाकै बजेटबाट सुन्दर र भव्य छिम्केश्वी मन्दिर निर्माण गरिएको भएतापनि छाना बिहिन बुढीदेवीको मन्दिररहेको आसपासमा ध्यान, जप र तप केन्द्र बनाउने ठूलो गुरुयोजना तयार भएको छ । त्यो काम गर्न बाँकी नै छ । यस्का साथै उक्त स्थानमा सभा हल, वरपर फूलवारी तथा विजुली बत्ति पुऱ्याएर पानीको व्यवस्था, शौचालयको व्यवस्था गर्ने काम भने बाँकी नै रहेको छ।’

जैविक विविधताले भरिपुर्ण छिम्केश्वरी लेकलाई ग्रामिण र धार्मिक पर्यटका लागी उत्कृष्ट गन्तव्यको रुपमा लिइन्छ । सो डाँडाबाट धौलागिरी –लाङ्गटाङ्गसम्मको हिमाली श्रखंलाको मनोरम दृष्य, हरियाली डाँडाकाँडा, नदीनाला, समथर भुभाग, सूर्योदय र सूर्यास्तको दृश्य, चितवनको नारायणगढ बजार, त्यस क्षेत्रका परम्परागत संस्कृतिमा आधारित घर, डाडैभरी ढकमक्क फुलेको लालीगुराँसले यहाँ घुम्न आउने पर्यटकको मन लोभ्याउने गर्दछ ।

सात देवीहरु मध्ये जेठी बुढीदेवी माई र माहिली मनकामना माई, अन्तरी इच्छाकामना माई, जन्तरी अन्नपूर्ण माई र कान्छी अकला माईलाई एकै ठाउँबाट सजिलै देख्न सकिन्छ। ६ वटै देवीहरुको दर्शन गरेता पनि ‘छिम्केश्वरीमाईको दर्शन नगरेसम्म मनोकांक्षा पुरा हुँदैन’ भन्ने जनविश्वास रहदै आएको कारणले पनि यस मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गरेको मन्दिरका पूजारी डिल बहादुर गुरुङले बताए ।

पालिकाले पनि छिम्केशवी माइलाई धार्मिक पर्यटनको हवका रूपमा बिकास गराउँदै पर्यटन प्रवर्धनमा देखिनेगरि काम गरेको पालिकाका अध्यक्ष शुक्र चुमानको भनाइ छ । ‘हामी सिङ्गो आँबुखैरेनी पालिकालाई पर्यटनको हवका रूपमा विकास गरिनु पर्छ भनेर लागि परेका छौँ, बिस्तारै परिणाम देखिन थालेको छ ।’ – अध्यक्ष चुमानले भने ।

छिम्केश्वरी माईलाई मनकामना र गोरखाकाली माईको दिदीबहिनीको रुपमा पुजिदै आएको छ । भाकल गरेर पूजा गरे पछि मनोकांक्षा पुरा हुने उद्देश्यले भक्तजनहरु उक्त मन्दिरको दर्शनका लागि आउने गर्दछन् ।

पालिकाले   यस मन्दिरको जिर्णोद्वारका लागि ४५ लाख रुपैयाँको लागतमा आकर्षक गजुर सहित पुननिर्माण गरेको जनाएको छ।  छिम्केश्वरीको प्रचार प्रसारमा टेवा पुग्ने हेतुले पहिलो पटक छिम्केश्वरी डाँडामा बसेको आँवुखैरेनी गाँउपालिकाको बैठकले मन्दिरको पुननिर्माणको लागी थप पन्ध्र लाख विनियोजन गरेको थियो ।  यस अघि तिस लाख रुपया मन्दिर निर्माणको लागी अपुग भएको भन्दै वैठकले १५ लाख रुपैयाँ थप गर्ने निर्णय गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले धार्मिक एवं पर्यटकीय स्थल छिम्केश्वरी माइको बिकास र  प्रचारप्रसारका लागी पनि आवश्यक बजेट विनियोजन हुँदै आएको जानकारी दिए ।   हाल छिम्केश्वरी मन्दिर दर्शन गर्न जाने मुख्य मोटर बाटो आँवुखैरेनी बजारदेखी लाद्यदी गाँउसम्म १५ किलोमिटर कालोपत्रेको काम भइरहे छ भने यात्रुहरुलाई उकालो बटो हिंड्न आधा जति रेलिङ सहितको ढलान सिंढिबाटो निर्माण गरिएको पालिकाले जनाएको छ। केहि सिंढिबाटो र रेलिङ भने अझै निर्माण गर्न बाँकी नै रहेको छ।

छिम्केश्वरी, आँधीमुल, अकला मन्दिर, ऐना पहराको झरना, मरस्याङ्दीको ड्याममा डुङ्गा सवारी तथा पर्यटकीय गाउँ गिरानचौरको घर बास, ठूला ठूला मगर तथा गुरुङ बस्तिहरु सिङ्गै  आँबुखैरेनी गाउँपालिकाकै धार्मिक तथा मनोरञ्जन लिने  पर्यटकीय स्थल भएकाले यसको प्रबर्द्धनका लागि आफुहरु लागिपरेको अध्यक्ष चुमानले बताए ।

पालिकाका उपाध्यक्ष दुर्गा अर्याल आँबुखैरेनी गाउँपालिका सांस्कृतिक हिसावले पनि धनि भएकाले सबै जातजातिका संस्कार, संस्कृति, रितिरिवाज तथा परम्पराको विकासमा आफूहरु लागिपरेको बताउँछिन् ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button