विचारसबै प्रदेश

परिवर्तन यही त होला !

– हजुरबाले घरमा रेडियो राख्दा समेत लाइसेन्स चाहिने बेला थियो। अहिले समाचार सुन्ने र पढ्ने होइन, हात हातबाटै हेर्ने पुस्ता बनिसक्यो। परिवर्तन यही त होला !

– जापान पढ्न जानुभ‌एका मामाले पठाउनु भएको दुई महिनापछि बल्लतल्ल घर आइपुगेको चिठी हजुरबालाई पढेर सुनाएको अनुभव छ। अहिले वहाँ मामा आफैलाई अमेरिकामा बस्ने छोरा बुहारी र नातिनीसँग दिनमा दुईपटक भिडियो कल नगरी चित्त बुझ्दैन। परिवर्तन यही त होला।

– एस एल सीको रिजल्ट आउँदा नतीजा थाहा पाउन काठमाडौँसम्म मिनेटको २५ रुपैयाँ तिरेर एसटिडी कल गर्न दुरसञ्चार अफिसमा डेढ घण्टा लाइन बस्ने हामी नै हौँ। अहिले हात हातमा उपलव्ध मोवाइलबाट फोन कल गर्न नि महङ्गो लाग्छ। र हामी भाइवर, ह्वाट्सएप र मेसेन्जर कल गर्छौँ। परिवर्तन यही त होला।

– दमौली मामाघरबाट परेवाडाँडा पूर्काङ्को घरसम्म जानुपर्दा कस्सिएर १० घण्टा  हिँड्नुको विकल्प थिएन। अहिले राजधानीदेखि केही घण्टामा घरको आँगनसम्मै आफ्नै गाडी लिएर पुग्न सक्छु। परिवर्तन यही त होला।

– द्वन्दकालमा रिपिटर टावर ध्वस्त हुँदा कतार ग’को छोराले सदरमुकामतिर चलाइएका एकाध कम्युनिकेसन सेन्टरहरुमा  फोन गरेर डेढ घण्टा परको घरबाट बाउलाई बोलाउन लगाएर कुरा गराउन पर्ने अवस्था थियो। अहिले माथ्लो तलाको छोरालाई तल्लो तलाको भान्सासम्म ‘भात खान आइज’ भनेर आमा ह्वाट्सएपमा कल गर्छिन्। परिवर्तन यही त होला।

– गाउँमा सात दिनसम्म झाडा पखालाले ग्रसित भ‌एर उपचारको अभावमा आमाले मृत्युवरण गरिन् अहिले छोरो अस्पताल आएर लगभग नि:शुल्क उपचार, त्यो पनि उही दिनमै पाइएन भनेर ओपिडी अगाडि रडाको मच्चाउँछ। परिवर्तन यही त होला।

– लाइब्रेरी ग‌एर ठेलीका ठेली किताब पढ्नुपर्ने पुस्ताका सन्तान हामीलाई अहिले यत्ति २५ लाइनको पोष्ट पनि लामो लाग्छ। परिवर्तन यही त होला !

(- प्राध्यापक डा. सेढाईं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल) काठमाडौँमा कार्यरत छन् । )

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button