नेपाल प्राकृतिक संसाधनले समृद्ध भएपनी हामीले समृद्धी हासिल गर्न नसक्नुको मूल कारण हाम्रो “धारणा र बिश्वास” नै हो। हाम्रो Believe System नै हो।

कर्ममा भन्दा भाग्यमा,मेहनतमा भन्दा चमत्कारमा,अनुसंधानमा भन्दा अनुमानमा,श्रम गर्नमा भन्दा विश्राम गर्नमा अनि सुन्न र सिक्नमा भन्दा प्वाक्क प्वाक्क थुतुनो चलाउनमा अत्यधिक रुचि राख्ने नेपाली समाजको दुर्दशाको मूलाधार “आजको लागि हैन,भोलीको लागि अनि बाँचुञ्जेल हैन मरेपछि” मुक्ती र स्वर्ग पाउने अन्धश्रद्धा (superstition) को अवधारणासंग जोडिएको छ।
हाम्रो समाज मूलतः हिन्दु बहुल समाज हो। हिन्दुहरूको निमित्त एउटा मात्र जन्म छैन, एउटा मात्र जीवन छैन। हामी हिन्दुहरूका लागि त अनगिन्ती जन्म र अनगिन्ती जीवन उपलब्ध छन् । पुनर्जन्मको ब्यवस्था जो छ !
यहि जन्ममा दुख गरिगरी किन देश बनाउनु हँ? अर्को जन्म,अर्को जन्म छँदैछ क्यारे ! बिस्तारै बिस्तारै देश बनाउने नि ! किस्ता किस्तामा देश बनाउने नि ! यो जन्ममा त मजाले आराम गर्ने।
महादेवले जस्तो भाङ्ग धतुरो खाने,कृष्णले जस्तो राशलिला गर्ने, बिष्णुले जस्तो बिषाक्त नागाशनमा लम्पसार सुत्ने अनि पत्नीको नाम “लक्ष्मी” राखेर बिहानदेखि बेलुकासम्म काममा घोट्ने !
हामी सनातनी हिन्दुहरूको चोटि अर्थात गंगोत्रीबाटै “आराम र अकर्मण्यताको गंगा” बगीरहेको छ। जस्तै अकर्म गरेको भएपनी गंगामा एक पटक डुबुल्की लाएपछी पुग्यो।
तर मुसलमान र ईसाईहरूको निमित्त यस्तो सुबिधा उपलब्ध छैन। मुसलमान र बहुसंख्यक ईसाईका निमित्त “एउटा जन्म र एउटा जीवन” मात्र उपलब्ध छ। एउटा मात्र जीवन उपलब्ध भएपछि उनीहरूलाई यहि जन्ममै जीवन बनाउनुपर्ने,समाज र देश समृद्ध पारिहाल्नु पर्ने बाध्यता छ।
• न्यौपाने नेपाल शिक्षक संघ तनहुँका सचिव हुन्।