प्रहार समाचार । तनहुँ, मंसिर १५ शुक्रबार ।
‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइएको छ।
हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाएको छ ।
सन् १९८१ मा पहिलो एचआइभी संक्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा संक्रमण भएको छ । संक्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी संक्रमित हुने गरेका छन् ।
केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एकजना एचआइभीबाट संक्रमित हुने गरेको छ । यसै बिच आज ३६औँ विश्व एड्स दिवस तनहुँको दमौलीमा पनि मनाइएको छ । कम्यूनिटी सपोर्ट ग्रुपका सहभागीहरूले आज शुक्रवार व्यास नगरपालिकाको अनसन चौतारी चोकको सडकमा मैनबत्ती प्रज्वलन गर्दै दिवस मनाएका छन्।