प्रहार समाचार । काठमाडौँ , कार्तिक १२ आइतबार ।
इजरेलको किबुचमा प्रशिक्षणमा रहेका बेला आतङ्कवादी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका तीन नेपाली विद्यार्थीको शव पहिचान भएको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।
नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आइतबार पहिचान भएको हो । योसँगै आठ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ । बाँकी दुईजनाको शव पहिचान हुन सकेको छैन् । आक्रमणका क्रममा सम्पर्कविहीन भएका विपिन जोशीको खोजी भने जारी रहेको दूतावासले आइतबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । उनको खोजिमा इजरेल सरकारले उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरिरहेको छ ।
हमासको आक्रमणमा परी घाइते भएका चार जना विद्यार्थीमध्ये दुई जनालाई अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको छ ।
डिस्चार्ज गरिएकामध्ये एक जना नेपाल आइसकेका र अर्का एक जना दूतावासको रेखदेखमा रहेका छन् । साथै अन्य दुई जनाको इजरेलमा उपचार भइरहेको दूतावासले जनाएको छ ।