हेडलाईनसमाचारसबै प्रदेश

स्वस्थानी व्रत र माघ स्नान आजबाट सुरू

प्रहार समाचार । तनहुँ, माघ ११ बिहिबार । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने स्वस्थानी व्रत र माघ स्नान आजबाट सुरू भएको छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरूवात भएको हो।

बिहीबारबाट एक महिना लामो माधवनारायण व्रत पनि सुरू भएको छ। व्रत आरम्भ भएको दिन बिहान व्रतालुहरूले काठमाडौंको गोकर्ण, पशुपति, भक्तपुरको हनुमान घाट तनहुँको देवघाट, दमौलीको मादि र सेती नदिआदि ठाउँमा स्नान गरि माधवनारायणको उपासना गरे।

 

व्रत लिनेहरूले प्रत्येक दिन बिहानै नुहाएर मध्याह्नपख महादेवको पूजाअर्चना गर्छन्। बेलुका स्कन्द पुराणको केदार खण्ड अन्तर्गतको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा रहिआएको छ। स्वस्थानी कथा कसैले बिहानीपख पनि गर्छन्।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ। चढाइएका प्रसादमध्ये सबैबाट आठ-आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनीस्कन्द पुराणमा उल्लेख गरिएका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए। 

देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ।  सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button