प्रहार समाचार | कास्की, पुस ७ शनिबार ।
सर्वसाधारणले सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रमण पौडेल र किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले रजिष्ट्रारलाई घुस खुवाएको बताएका छन्।
पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पौडेल र व्यवस्थापक अधिकारीले स्याङ्जामा सहकारीको सेवा केन्द्र विस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार उदयबहादुर पराजुलीलाई १ करोड १५ लाख रूपैयाँ घुस दिएको बताएका हुन्।
पौडेल र अधिकारीलाई सर्वसाधारणले बचत गरेको २६ करोड रूपैयाँ अपचलन आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरी अनुसन्धानका क्रममा उनीहरूले पराजुलीलाई घुस खुवाएर कार्यक्षेत्र विस्तार गरेको बयान दिएका हुन्। पौडेल र अधिकारीले तत्कालीन रजिष्ट्रारलाई घुस खुवाएको बताएपछि पराजुलीलाई पनि पक्राउ गर्न जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको छ। अदालतले बिहीबार पराजुलीलाई सहकारी रकम अपचलन मुद्दामा पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको स्रोतले जनाएको छ।
सहकारीले पोखरासहित स्याङ्जाको आँधीखोला गाउँपालिकामा सेवा केन्द्र स्थापना गरेको थियो। सहकारीले स्थानीय तहभन्दा बाहिर शाखा वा सेवा केन्द्र सञ्चालन गर्दा सहकारी रजिष्ट्रारको कार्यालयबाट अनुमति लिनुपर्छ। अदालतले पक्राउ पुर्जी जारी गरेपछि पराजुली सम्पर्कविहीन छन्।
पराजुली हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन्। कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले प्रशासकीय अधिकृत एक सातादेखि बिदामा बसेको बताए। सेतोपाटी