गण्डकीसाहित्यसबै प्रदेशशुक्लागण्डकी

समयको रङ  (आत्म जीवनी) 

उताबाट आवाज आयो । “ममी म पकाउन जान्दिनँ खाना । यो मिन्स सिन्स बार्नु पर्दैन ।  म ग्याँस बाल्न सक्दिनँ । मलाई डर लाग्छ ।   बरु म रेस्टुरेन्टमा फोन गरेर खानाको अर्डर गर्दिन्छु ।” ७ कक्षा पढ्ने छिमेकी नानीले आफ्नी आमासँग गरेको दुवफसल सुनेँ । म झसङ भएँ । विगतका पाना फरर पल्टिए तासका पत्ता पल्टिएसरी । “मैयाँ आज नयाँ दाल पका,लौका र आलु तरकारी पका । म आउन कतिबेला हुन्छ । भैसीलाई घाँस हाल्नु ।”आमाले डोको र नाम्लो लिएर निस्कँदै गर्दा भन्नुभयो । घरकी जेठी सन्तान त्यसमा पनि छोरी । घरमा खाना पकाउने,घर सरसफाइ गर्ने र भाइबहिनीको हेरचाह गर्ने कामहरु मेरै हिस्सामा पर्थे । बहिनी सानी थिई । पृथ्वी राजमार्गको नजिकै  घर भएकाले  बहिनी सडकमा  दैडिन्छे कि भन्ने ठूलो भय हुन्थ्यो ।  खुल्ला सडक भएकाले होला गाडीहरु बेतोडले दौडाउँथे  । म बहिनीको हेरालो, निकै चनाखो हुनुपर्थ्यो । यतिबेला जस्तो भए त म आमासँग हेर्दिनँ बैनी सैनी भनेर घुर्की पनि लाउँथे होला ।  तर मसँग तेत्रो हिम्मत कहिल्यै आएन आमाले भन्नुभएको कुरा फर्काउने । आमा खेततिर जानुभयो । भात तिहुन पकाउने र बहिनी हेर्ने मेरो मुख्य काम थियो । घर बाहिर चौर थियो । साथीहरु खेल्दै गरेको देखेँ । मनमनै सोचें । दाल कुकरमा बसाल्छु र बहिनी लिएर एक्छिन खेलेको हेर्न जान्छु । चुलोभित्र अट्नेजति चिर्पट दाउरा कोचेर आगो रन्काएँ । कुकरको बाहिरी भागमा खरानी दलेँ र अरु दिनमा जस्तै अड्कलेर दाल,नुन,बेसार र पानीको मात्रा मिलाएर
चुलोमा कुकर बसाली बाहिर निस्केँ । साथी सन्तोषीले डोरी खेल्ने भनिन् । सन्तोषी , सेती र म भयौं । मैले म पहिला खेल्ने प्रस्ताव गरेँ ।दुबैले स्वीकृति जनाएँ । म लगालग तिन गेम खेलुन्जेलसम्म मरिनँ । हाम्रो खेलमा मर्नु बाच्नु भनेको गेम पूरा गर्न सक्नु नसक्नु भन्ने थियो । म मरेपछि झलक्क सम्झें चुलामा बसालेको दाल । एकछिन साथीहरूलाई बहिनी हेर्न अह्राएर  हत्तारिदै घरभित्र पसेँ । कुकरले सिटि मारेको मार्यै थियो । दाल डढेर गन्ध आएको रहेछ । हतारहातार कुकर चुलाबाट झिकेर बाहिर फालेँ ।बाल्टिले पानी हालेँ , कुकर बेस्सरी पुत्तायो । हावा सकिएपछि कुकरको बिर्को खुल्यो ।  कुकरको पिँधमा  दाल डढेर सत्यनास भएछ ।  कलिला हातले बेस्सरी घोटेर धुने प्रयास गरेँ ।  सकिनँ ।अब आमा आउने बेला भैसकेको थियो । घरसँगै जोडिएको खाली जग्गामा खरको छाप्रो थियो ,भत्केको । त्यसैको आडमा खाल्टो खनेर कुकर गाडेँ । हतारहतार लौका काटेर लौका र आलुको एक कराही तिहुन पकाइदिएँ।

 


आज दाल पकाइनस् छोरी? बेलुका खाना खानेबेलामा आमाले सोध्नुभयो । अहँ ! आज बहिनीले पिरोली । एक थोक मात्रै पकाएँ । छिटो उत्तर पस्किएँ । खाना खाइवरी सुत्यौं । आमा बा साँच्चैका व्यस्त हुनुहुँदो रहेछ त्यतिबेला । मैले डढाएको कुकर चार दिन लगाएर धोएर सकाएँ। स्कुलबाट आएपछि प्रत्येक दिन एकपटक मस्काउँथेँ  बालुवा हालेर । कुकरको पिँधको  कालो धुँदाधुँदा हैरान। चारदिनसम्मको लगातारको  मेहेनतपछि बल्ल कुकरले खाल्टामुनि बास बस्नुपरेन । जीवनको यो भोगाइ अहिले पनि ताजा भएर आउँछ । जमाना एक थियो त्यस्तो, आमाबासँग दोहोरो बोल्न सकिँदैनथ्यो । जमना फेरिएको छ ।  यति पुरानो  स्मृति आज ताजा भएर आएको छ ।
पल्लो घरबाट  पुनः चर्को आवाज तरङ्गित भएर आयो, “म पकाउन सक्दिनँ खाना साना । जेसुकै गर्नुस् । मलाई एउटा कुरकुरे ल्याइदिनुस् । हजुर जेसुकै खानुस् ।”

मनको अर्को कुनामा एउटा सानो विचार विस्तारै उठ्यो -“धत्तेरी ! अलि ढिलो पो जन्मिएछ ।” हुन त ढिलो जन्मनुमा कस्को दोष थियो र ? समयको चक्रमा कोहि ढिलो र कोही छिटो जन्मनु स्वभाविक नै हुन्छ ।
-तनहुँ

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button