प्रहार समाचार । धादिङ चैत ६ मंगलवार । धादिङको नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको आज दाउरा काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ ।
रुखबाट लड्नेबित्तिकै उपचारका लागि धादिङ अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए । वडा सदस्य तिमिल्सिना गत निर्वाचनमा खुलातर्फ वडा सदस्यमा निर्वाचित भएका हुन् ।
वडा सदस्य खिरेन्द्र प्रसाद तिमिल्सिनाको निधन भएको शोकमा नीलकण्ठ नगरपालिकाले भोलि बुधवार नगरपालिकामा बिदा दिने निर्णय गरेको छ । नीलकण्ठ–१० का वडा सदस्य तिमिल्सिनाको निधनमा नगरपालिका तथा मातहतका वडा कार्यालयमा एक दिनका लागि शोक बिदा दिने निर्णय गरेको पालिकाले जनाएको छ।