दमौली खबर संवाददाता
तनहुँ वैशाख २५
गुरुङ समुदायको प्रसिद्व मानिने घाटु नाच पछिल्लो समय लोप हुँदै गएपछि संरक्षण गर्न थालिएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–५ स्थित भोटेश्वारामा गुरुङ समुदायको घाटु नाच शुक्रबारदेखि सञ्चालन गरिएको गरिएको छ ।
लोपोन्मू यस नाचको गएपछि यसको उचित संरक्षण र सम्बद्र्धन गर्न उक्त नाच शुरु गरेको हो ।
बैशाख २२ गते चण्डिपूर्णीमाको दिनदेखि सुरु गरिएको घाटु नाच आज समापन गर्ने कार्यक्रमा रहेको अभियान्ता रञ्जित गुरुङले बताउनुभयो ।
गुरुङ सस्कृति अनुसार माघ महिनामा बसन्त पञ्चमीबाट शुरु भएको घाटु नाच वैशाख पूर्णिमा पछिको पञ्चमीमा समापन गर्ने प्रचलन रहेको छ । विगत पन्ध्र बर्ष पछि पुन ः घाटु नृत्यको आयोजना गरेको उहाँले जानकारी दिनुभयो ।
स्थानीय युवा एवं लोक गायक रन्जित गुरुङ र कन्यादेवी माविका प्रध्यानाध्यापक सुर्यमानसिंह गुरुङको सक्रियतामा उक्त घाटु नृत्यको आयोजना गरेको हो ।
सती र बाह्रमासे गरी घाटु नाच दुई प्रकारको हुन्छ । बाह्रमासे घाटु जुन बेलापनि नाच्ने गरिन्छ । गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाटु नृत्य ठाउँ अनुसार फरक–फरक हुने गरेपनि सबै ठाउमा नाचिने घाटुको कथा भने एउटै किसिमको हुनेछ ।
पछिल्लो समय घाटु नाच नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा हराउदै गएकोले यसको संरक्षणको लागि अभियान थालेको अभियान्ता गुरुङले बताउनुभयो ।
सत्रौँ शताब्दीदेखि घाटु नृत्यको प्राराम्भ भएको किंबन्दी रहेको पाइन्छ । यस नृत्यमा रजश्वला नभएका दुईजना कन्यालाई स्थानीय भेषभूषामा सजाई मध्ययुगिन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्यको प्रारम्भ गरिने छ ।
लमजुङ कास्की लगायतका जिल्लाहरुमा दुई कन्यालाई मात्र नचाईने गरिए पनि तनहुँ,चितवन र गोरखा लगायतका स्थानहरुमा तीन बिजोर संख्या पारेर जति पनि कन्याहरुलाई समावेश गरी घाटु नचाउन सकिन्छ ।
विशेषगरी पहिलोपटक घाटु नाच्ने कन्याहरुलाई पहिले नै अभ्यास गराउनुपर्ने भएकोले आफुहरुले एकहप्ता अघिदेखि कन्याहरुलाई अभ्यास गराइएको थियो ।
घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, श्रृंगार, बिहेवारी, शिकार, माछा मार्ने, खेतीपाती,युद्वबारे व्याख्या तथा अभिनय गरिने अर्का अभियान्ता सुर्यमानसिंह गुरुङले जानकारी दिनुभयो ।
परम्परागत संस्कृतिको संरक्षण गर्न र गुरुङहरुको पहिचानलाई जोगाउन संस्कृतिको रुपमा रहेको घाटुनाचलाई पछिल्लो समय उत्सवको रुपमा समेत मनाउन थालिएको बताईएको छ ।